काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डाटा सेन्टरमा प्रयोग हुने चिनियाँ उपकरणका नयाँ मोडेलको आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली सञ्चालनका लागि आवश्यक महत्वपूर्ण डिजिटल पूर्वाधारलाई साइबर जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले यस्तो कदम अघि बढाइएको बताइएको छ।
यस विषयमा जानकार चार स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अमेरिकी दूरसञ्चार नियामक संघीय सञ्चार आयोग (एफसीसी) ले चिनियाँ कम्पनीले उत्पादन गर्ने नयाँ अप्टिकल ट्रान्ससिभर अमेरिकी बजारमा प्रवेश गर्न नदिने प्रस्ताव तयार गरिरहेको छ।
अप्टिकल ट्रान्ससिभर फाइबर–अप्टिक नेटवर्कमार्फत तीव्र गतिमा डाटा पठाउने र प्राप्त गर्ने उपकरण हो। आधुनिक डाटा सेन्टर, क्लाउड कम्प्युटिङ तथा एआई प्रणाली सञ्चालनमा यसको महत्वपूर्ण भूमिका रहन्छ।
अमेरिकी अधिकारीहरूले प्रतिबन्धसम्बन्धी निर्णय यही वर्षभित्र सार्वजनिक गर्ने लक्ष्य राखेका छन्। प्रस्ताव लागू भएमा चिनियाँ उत्पादकका नयाँ मोडेलका अप्टिकल ट्रान्ससिभर अमेरिकामा आयात गर्न पाइने छैन। यद्यपि अन्तिम निर्णयअघि प्रस्ताव संशोधन, सीमित वा स्थगित हुन सक्ने सम्भावना पनि रहेको स्रोतहरूले बताएका छन्।
अमेरिकी प्रशासनले चिनियाँ उपकरणमार्फत संवेदनशील सूचना चोरी हुन सक्ने, हानिकारक सफ्टवेयर जडान गरिन सक्ने वा संकटका समयमा डाटा सेन्टरको सेवा अवरुद्ध पार्न सकिने जोखिम औंल्याएको छ। एआई प्रणालीलाई तालिम दिने र सञ्चालन गर्ने अत्याधुनिक चिप तथा ठूलो परिमाणको संवेदनशील डाटा यिनै केन्द्रमा राखिने भएकाले उपकरण आपूर्ति शृंखलाको सुरक्षा झन् महत्वपूर्ण बनेको अमेरिकी पक्षको तर्क छ।
वाशिङ्टनस्थित बेकन ग्लोबल स्ट्राटेजिजका एआई नीति विज्ञ दिव्यांश कौशिकले एआई पूर्वाधार निर्माणको सुरुआती चरणदेखि नै सम्पूर्ण आपूर्ति शृंखला सुरक्षित बनाउनुपर्ने बताएका छन्। अप्टिकल ट्रान्ससिभरजस्ता साना देखिने उपकरणबाट समेत सुरक्षा जोखिम उत्पन्न हुन सक्ने उनको भनाइ छ।
अमेरिकी कम्पनीका शेयरमा उछाल
चिनियाँ उपकरणमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक भएपछि अमेरिकामा अप्टिकल नेटवर्किङ उपकरण उत्पादन गर्ने कम्पनीका शेयर मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
लुमेन्टमको शेयर करिब ७ प्रतिशत, कोहेरेन्टको ११ प्रतिशत र एप्लाइड अप्टोइलेक्ट्रोनिक्सको शेयर १८ प्रतिशतसम्म बढेको बताइएको छ। चिनियाँ उपकरणको आयात रोकिएमा अमेरिकी उत्पादकको माग र व्यापार बढ्ने अपेक्षामा लगानीकर्ता आकर्षित भएका हुन्।
चीनको विरोध, प्रतिवादको चेतावनी
अमेरिकास्थित चिनियाँ दूतावासले भने प्रस्तावित प्रतिबन्धप्रति असन्तुष्टि जनाएको छ। दूतावासले चिनियाँ कम्पनीमाथि आधारहीन आरोप लगाउने र प्रतिबन्धको धम्की दिने अभ्यास बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ।
दुवै देशका व्यावसायिक समुदायबाट आएका व्यावहारिक सुझाव सुन्नुपर्ने उल्लेख गर्दै चीनले आफ्नो राष्ट्रिय तथा आर्थिक हितमा गम्भीर असर पर्ने कदम चालिए आवश्यक प्रतिवाद गर्ने चेतावनी दिएको छ।
प्रस्तावित प्रतिबन्धबाट विश्वका प्रमुख अप्टिकल ट्रान्ससिभर उत्पादकमध्ये एक चिनियाँ कम्पनी झोङजी इनोलाइट सबैभन्दा बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
अमेरिकी रक्षा मन्त्रालयले गत जुनमा उक्त कम्पनीलाई चिनियाँ सेनासँग सम्बन्ध रहेको आशंका गरिएका कम्पनीको सूचीमा समावेश गरेको थियो। यस्तो सूचीमा परेका कम्पनीमाथि भविष्यमा थप व्यापारिक तथा नियामकीय प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहन्छ। कम्पनीले भने प्रस्तावित अमेरिकी कदमबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।