बुधबार, श्रावण २७,२०८३ 03:26:09
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:26:09
Bizshala
Global IME Bank Limited

युरोपमा अत्यधिक गर्मीका कारण ग्यासको मूल्य रेकर्ड स्तर नजिक

Prabhu Bank Limited
युरोपमा अत्यधिक गर्मीका कारण ग्यासको मूल्य रेकर्ड स्तर नजिक
New Office

काठमाण्डौ । युरोपमा प्राकृतिक ग्यासको मूल्य सन् २०२३ यताकै उच्च स्तरतर्फ उक्लिएको छ। अत्यधिक गर्मीका कारण विद्युत् माग बढ्नु, ग्यासबाट विद्युत् उत्पादनमा वृद्धि हुनु, नर्वेको महत्वपूर्ण ग्यास क्षेत्रमा मर्मतसम्भार लम्बिनु तथा विश्वव्यापी एलएनजी आपूर्तिमा देखिएको जोखिमले युरोपेली ग्यास बजारमा दबाब बढाएको हो।

युरोपको प्रमुख बेन्चमार्क मानिने टिटिएफ फ्युचर्सको मूल्य कारोबारका क्रममा प्रतिमेगावाट घण्टा ६२ युरोभन्दा माथि पुगेको थियो। यो जुलाई २४ मा कायम भएको ६३ युरो प्रतिमेगावाट घण्टाको उच्च विन्दुको नजिक हो। जुलाई २४ को मूल्य सन् २०२३ जनवरीयताकै उच्च थियो। पछि अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौताको आशा बढेपछि मूल्य केही घट्दै ६०.८५ युरो प्रतिमेगावाट घण्टासम्म आएको थियो।

युरोपका विभिन्न मुलुकमा जारी गर्मीको लहरले एयर कन्डिसनरको प्रयोग बढाउँदा विद्युत्को माग तीव्र रूपमा बढेको छ। साथै, अत्यधिक तापक्रमका कारण आणविक तथा कोइलाबाट विद्युत् उत्पादनमा समेत अवरोध आएको छ। नदीको पानी अत्यधिक तात्नु र कतिपय क्षेत्रमा पानीको सतह अत्यन्तै घट्नुका कारण यी विद्युत् केन्द्रहरूको उत्पादन क्षमता प्रभावित भएको हो।

रोमानियाको सरकारी ऊर्जा कम्पनी न्यूक्लियरइलेक्ट्रीयाले डान्युब नदीमा पानीको सतह अत्यन्त न्यून भएपछि सर्नाभोडा न्यूक्लियर पावर प्लान्टको दोस्रो युनिटसमेत बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ। यसअघि पहिलो युनिट जुलाई ३१ मै बन्द गरिएको थियो।

बेलायतमा समेत तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमानपछि मौसमविद्हरूले ‘एम्बर’ चेतावनी जारी गरेका छन्। उच्च तापक्रमले एयर कन्डिसनिङका कारण विद्युत् माग बढाउनुका साथै ग्यासबाट चल्ने विद्युत् संयन्त्रको सञ्चालनमा समेत चुनौती थपेको छ।

ऊर्जा बजारसम्बन्धी अनुसन्धान संस्था वुड म्याकेनेजीका अनुसार पश्चिमी युरोपमा जुलाई महिनामा विद्युत् उत्पादनका लागि ग्यासको माग सामान्य अवस्थाको तुलनामा करिब ७१४ मिलियन घनमिटर बढी थियो। अगस्टमा पनि ग्यासको माग पछिल्लो पाँच वर्षको औसतभन्दा माथि रहेको बताइएको छ।

यसैबीच, युरोपमा देखिने सूर्यग्रहणले समेत विद्युत् बजारमा थप दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ। फ्रान्सेली विद्युत् प्रसारण सञ्चालक आरटीईका अनुसार सूर्यग्रहणका कारण युरोपमा केही घण्टाका लागि करिब ९.७ गिगावाट सौर्य विद्युत् उत्पादन अस्थायी रूपमा घट्न सक्छ। त्यसको पूर्ति गर्न ग्रिड सञ्चालकहरूले ग्यासबाट चल्ने विद्युत् उत्पादन क्षमता सक्रिय गर्नुपर्ने अवस्था आउँदा जर्मनीको डे–अहेड विद्युत् मूल्य प्रतिमेगावाट घण्टा करिब २०० युरो बढेर ४६१.१७ युरो पुगेको छ।

ग्यास आपूर्तिको अर्को महत्वपूर्ण स्रोत नर्वेमा पनि समस्या देखिएको छ। नर्वेली पाइपलाइन सञ्चालक ग्यासकोले प्राविधिक समस्याका कारण सेलको ओरमान लाङ्गे समुद्री ग्यास क्षेत्रमा जारी मर्मतसम्भारको अवधि थपिएको जनाएको छ। यसले युरोपतर्फको ग्यास आपूर्तिमा थप दबाब पार्ने जोखिम बढाएको छ।

विश्वव्यापी एलएनजी आपूर्तिमा देखिएको अनिश्चितताले पनि युरोपेली बजारलाई प्रभावित गरिरहेको छ। इरानसँगको द्वन्द्वका कारण स्ट्रेट अफ हर्मुज हुँदै हुने ऊर्जा ढुवानीमा जोखिम बढेको छ भने कतारमा समेत उत्पादन प्रभावित भएको छ।

युरोपका ग्यास भण्डारण केन्द्रमा पर्याप्त मौज्दात नरहेको अवस्थामा आपूर्ति र मागबीचको सामान्यभन्दा सानो असन्तुलनले पनि मूल्यमा ठूलो उतारचढाव ल्याइरहेको विश्लेषकहरूको भनाइ छ। गर्मीका कारण विद्युत् माग निरन्तर बढ्दै जाने र विश्वव्यापी एलएनजी आपूर्ति तथा ढुवानीमा जोखिम कायम रहने हो भने युरोपेली ग्यास बजारमा आगामी दिनमा समेत मूल्य दबाब कायम रहने सम्भावना देखिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.