काठमाण्डौ । इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हर्मुज जलमार्गसम्बन्धी पछिल्लो अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन्।
अजीजीले ट्रम्पलाई हर्मुज जलमार्गबारे निरन्तर धम्की दिनुको सट्टा आफ्नै सुरक्षामा ध्यान दिन सुझाव दिएका छन्। सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले ट्रम्पले आफ्नो सुरक्षाका लागि फेरि ‘खानाको ट्रक’मा लुक्नुपर्ने अवस्था आउन सक्ने टिप्पणी गरेका छन्।
अजीजीको यो प्रतिक्रिया ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताएका घटनापछि आएको हो। ट्रम्पले हालैको एक सम्बोधनमा इरानमाथि दबाब बढाउँदै रणनीतिक जलमार्गलाई अमेरिकी नियन्त्रणमा ल्याउने संकेत दिएका थिए।
ट्रम्पको अभिव्यक्तिपछि ह्वाइट हाउसले उनको भनाइलाई ‘ठट्टा’का रूपमा व्याख्या गरेको बताइएको छ। तर, उनको टिप्पणीले अन्तर्राष्ट्रियस्तरमा व्यापक चर्चा पाएको छ र इरानी अधिकारीहरूले त्यसको कडा प्रतिवाद गरेका छन्।
हर्मुज जलमार्ग इरान र ओमानबीच अवस्थित विश्वकै महत्वपूर्ण सामुद्रिक ऊर्जा मार्गमध्ये एक हो। पछिल्लो समय अमेरिका र इरानबीचको तनाव तथा जलडमरूमध्यमा जारी अवरोधका कारण विश्वव्यापी ऊर्जा आपूर्ति र तेल बजारमा समेत दबाब बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।