काठमाण्डौ । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला पाँच बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भेलाले पार्टीको १५औँ महाधिवेशन, संगठनात्मक एकता, राष्ट्रिय मेलमिलाप, धार्मिक तथा सांस्कृतिक पहिचान र संविधान संशोधनका विषयलाई प्राथमिकतामा राखेको छ।
भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नै १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशन सम्पन्न हुने र उनकै नेतृत्वमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने विश्वास भेलाले व्यक्त गरेको छ।
महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकहरूले समन्वय गर्ने निर्णयसमेत गरिएको छ।
भेलाले बीपी कोइरालाले वि.सं. २०३३ सालमा अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई वर्तमान राजनीतिक परिस्थितिमा समेत सान्दर्भिक रहेको निष्कर्ष निकालेको छ। राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ बनाउन सबै लोकतन्त्रवादी शक्तिसँग संवाद र सहकार्य गर्दै अघि बढ्ने प्रस्ताव पारित गरिएको छ।
धर्म र संस्कृतिसम्बन्धी प्रस्तावमा भेलाले नेपालमा सनातनदेखि चलिआएका धार्मिक तथा सांस्कृतिक परम्परालाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउनुपर्ने धारणा अघि सारेको छ। हिन्दु, बौद्ध, किराँत तथा प्राकृत धर्मको संरक्षणसँगै धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव सुनिश्चित गर्नुपर्नेमा भेलाले जोड दिएको छ।
भेलाले सनातन धर्म र संस्कृतिलाई नेपालको राष्ट्रिय पहिचानसँग जोडेर संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने प्रस्ताव पनि पारित गरेको छ।
यस्तै, वर्तमान संविधानमा देखिएका कतिपय अस्पष्टता र जनअपेक्षालाई सम्बोधन गर्न आवश्यक संशोधनका लागि नेपाली कांग्रेसले पहल गर्नुपर्ने निर्णय गरिएको छ। संविधानले व्यवस्था गरेको प्रक्रियाअनुसार सबै राजनीतिक तथा सामाजिक पक्षसँग संवाद गरी आवश्यक निकास खोज्नुपर्ने भेलाको निष्कर्ष छ।
इतर समूहको यो भेलाले आगामी महाधिवेशनसम्म पार्टीलाई एकताबद्ध बनाउँदै संगठन सुदृढीकरण, राष्ट्रिय मेलमिलाप र संविधान सुधारका एजेन्डालाई अघि बढाउने संकेत गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।