आईतवार, श्रावण ३१,२०८३ 06:31:34
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 06:31:34
Bizshala
Global IME Bank Limited

लिबियाली बैंकहरू चीनको क्रस–बोर्डर इन्टरबैंक पेमेन्ट सिस्टममा जोडिँदै, युआनमा प्रत्यक्ष कारोबारको बाटो खुल्ने

Prabhu Bank Limited
लिबियाली बैंकहरू चीनको क्रस–बोर्डर इन्टरबैंक पेमेन्ट सिस्टममा जोडिँदै, युआनमा प्रत्यक्ष कारोबारको बाटो खुल्ने
New Office

काठमाण्डौ । लिबियाका बैंकहरू चीनको क्रस–बोर्डर इन्टरबैंक पेमेन्ट सिस्टम (सीआईपीएस) मा आबद्ध हुने तयारीमा छन्। बेइजिङमा लिबियाको केन्द्रीय बैंकका गभर्नर नाजी इस्सा र चीनको पिपुल्स बैंकका गभर्नर पाङ गोङसेङबीच भएको वार्तापछि लिबियाली बैंकलाई सीईपीएस प्रणालीमा जोड्ने सहमति बनेको हो।

सीईपीएसमा आबद्ध भएपछि लिबिया र चीनबीचको व्यापारमा अमेरिकी डलरलाई मध्यस्थ मुद्रा नबनाई चिनियाँ युआनमै प्रत्यक्ष अन्तरबैंक भुक्तानी तथा सेटलमेन्ट गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले सीमापार रकम स्थानान्तरणलाई तीव्र बनाउनुका साथै व्यापारिक कारोबारलाई सरल र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

लिबियाको सरकारी समाचार संस्था लिबियन न्युज एजेन्सीका अनुसार सीईपीएसमा आबद्धताले व्यावसायिक कारोबार सहज बनाउने, सीमापार भुक्तानीको समय घटाउने तथा दुई देशबीचको व्यापारिक प्रवाह बढाउन सहयोग गर्नेछ।

लिबियाले चिनियाँ पूँजी बजारमा प्रवेश गर्ने योजनासमेत अघि बढाएको छ। त्यसका लागि चीनको मुख्यभूमि बजारमा विदेशी संस्थाले युआनमा जारी गर्ने ऋणपत्र ‘पान्डा बन्ड’ जारी गर्ने तयारी भइरहेको छ।

वर्षौं लामो द्वन्द्वबाट प्रभावित लिबियाको पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन यस्तो ऋणपत्र उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ।

चीनको सीईपीएस प्रणालीमा आबद्ध हुने अफ्रिकी देश तथा बैंकहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ। अफ्रिकन एक्सपोर्ट–इम्पोर्ट बैंक र दक्षिण अफ्रिकाको स्ट्यान्डर्ड बैंक यसअघि नै सीईपीएसमा आबद्ध भइसकेका छन्।

CG Motors

अंगोलाको बान्को दे फोमेन्टो अंगोला पनि सीईपीएसमा आबद्ध हुने तयारीमा छ। युआनमा प्रत्यक्ष कारोबारको स्थानीय माग बढेपछि अंगोलाको केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई विदेशी मुद्रासम्बन्धी आवश्यकता पूरा गर्न युआन प्रयोग गर्न अनुमति दिएको छ।

जाम्बियाले पनि जनवरीदेखि चिनियाँ खानी कम्पनीहरूबाट कर तथा रोयल्टी युआनमा संकलन गर्न थालेको छ। संकलित युआन चीनबाट आयात हुने वस्तुको भुक्तानी तथा ऋण सेवाका लागि प्रयोग गर्ने व्यवस्था गरिएको छ।

यसैगरी चीनले नाइजेरिया र दक्षिण अफ्रिकालगायत केही अफ्रिकी मुलुकसँग मुद्रा आदान–प्रदान ९करन्सी स्वाप० सम्झौता गरेको छ। केन्याले गत वर्ष रेल परियोजनासँग सम्बन्धित ऋणलाई युआनमा रूपान्तरण गरेको थियो भने इथियोपिया र मोजाम्बिकले पनि यस्तै ऋण पुनर्संरचनाका लागि चीनसँग वार्ता गरिरहेका छन्।

चीनको इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनाको २० प्रतिशत स्वामित्व रहेको स्ट्यान्डर्ड बैंकलाई चीनको केन्द्रीय बैंकले अफ्रिकाका १९ मुलुकमा युआन कारोबार क्लियरिङ गर्न अनुमति दिएको छ।

स्ट्यान्डर्ड बैंकले जुलाई २७ मा सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको अन्त्यदेखि सीईपीएसमार्फत करिब ८ अर्ब युआन ९करिब १.२ अर्ब अमेरिकी डलर० बराबरको कारोबार प्रशोधन गरिएको छ।

केन्यामा स्ट्यान्डर्ड बैंकको सहायक कम्पनी स्ट्यानबिक बैंकले आईसीबीसीसँगको सहकार्यमा प्रत्यक्ष युआन क्लियरिङ सेवा सुरु गरेको छ। यसबाट स्थानीय व्यापारीले अमेरिकी डलरलाई मध्यस्थ मुद्रा नबनाई चीनसँगको सीमापार कारोबार युआनमै गर्न सक्ने भएका छन्।

चीन अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा महादेशका ठूला पूर्वाधार परियोजनाहरूको प्रमुख वित्तीय स्रोत हो। यस वर्षको पहिलो छ महिनामा चीन र अफ्रिकाबीचको द्विपक्षीय व्यापार २०३.५ अर्ब अमेरिकी डलर पुगेको छ, जुन नयाँ कीर्तिमान हो।

अर्थशास्त्री चार्ली रोबर्टसनका अनुसार चीनले अफ्रिकासँगको व्यापारमा युआनलाई प्रमुख मुद्रा बनाउने लक्ष्य राखेको छ। यद्यपि निकट भविष्यमा युआनमा आधारित भुक्तानी प्रणालीले अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरलाई पूर्ण रूपमा विस्थापित गर्ने सम्भावना भने कम रहेको उनको विश्लेषण छ।

लिबियाली बैंकहरू सीईपीएसमा आबद्ध हुने तयारीले अफ्रिका–चीन व्यापारमा युआनको प्रयोग विस्तार गर्ने चीनको प्रयासलाई थप बल पुग्ने देखिएको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.