काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बिहीबार दुई महिनाभन्दा बढी समययताकै उच्च स्तरनजिक पुगेको छ। अमेरिकी ट्रेजरी विभागले दीर्घकालीन ऋणपत्रको तरलता समर्थनसम्बन्धी कार्यक्रम विस्तार गर्ने घोषणा गरेपछि अमेरिकी बन्डको प्रतिफल र डलर कमजोर हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दुई महिनाभन्दा बढी समययताकै उच्च स्तरनजिक पुगेको हो।
यो समाचार तयार पार्दासम्म स्पट गोल्डको मूल्य ३.०१ प्रतिशत अर्थात १३२ डलरले बढेर प्रतिऔंस ४ हजार ४९६ डलरमा कारोबार भईरहेको छ। यसअघि सुनको मूल्य कारोबारको क्रममा प्रतिऔंस ४ हजार ५२५.७९ डलरसम्म पुगेको थियो । यो मूल्य जुन २ यताकै उच्च स्तर हो। बुधबार मात्रै सुनको मूल्य ४ प्रतिशतभन्दा बढीले बढेको थियो।
अमेरिकी ट्रेजरी विभागले दीर्घकालीन नोट तथा बन्डका लागि सञ्चालन गरिने ऋण पुनर्खरिद कार्यक्रमअन्तर्गत तरलता समर्थनको आकार दोब्बर गरी कम्तीमा ४ अर्ब डलर पुर्याउने घोषणा गरेको थियो। घोषणापछि दीर्घकालीन अमेरिकी ट्रेजरी बन्डप्रति माग बढ्दा तिनको प्रतिफल घटेको छ।
यता अमेरिकी डलर पनि कमजोर अवस्थामा रहेकाले अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि डलरमा मूल्य निर्धारण हुने सुन तुलनात्मक रूपमा सस्तो बनेको छ। यसले सुनको मागलाई थप समर्थन गरेको छ।
अमेरिकी ट्रेजरी विभागका अनुसार अमेरिकाको कुल सरकारी ऋण पहिलोपटक ४० ट्रिलियन डलरभन्दा माथि पुगेको छ। सामाजिक सुरक्षा तथा अन्य सामाजिक कार्यक्रमको बढ्दो खर्च र ब्याज भुक्तानी तीव्र रूपमा बढिरहेको अवस्थामा कर कटौतीका कारण सरकारी आम्दानीमा परेको दबाबले वित्तीय संकटको जोखिमबारे नयाँ चिन्ता बढाएको छ।
यसैबीच, अमेरिकी फेडरल रिजर्भको गत महिनाको बैठकको विवरणले मुद्रास्फीतिबारे नीतिनिर्माताहरूको चिन्ता बढेको देखाएको छ। विवरणअनुसार केही अधिकारी ब्याजदर बढाउन तयार देखिएका थिए भने धेरै अधिकारीले मुद्रास्फीति फेडको २ प्रतिशत लक्ष्यतर्फ नघटेमा ब्याजदर वृद्धि आवश्यक पर्न सक्ने बताएका थिए।
अन्य बहुमूल्य धातुमध्ये चाँदीको मूल्यपनि ४.८५ प्रतिशत अर्थात ३ डलरले बढेर प्रतिऔंस ६७ डलरमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।