काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ। कमजोर अमेरिकी डलर र अमेरिकी ट्रेजरी विभागले सरकारी बोण्ड बाइब्याक गर्ने निर्णय गरेपछि सुनको माग बढ्दा मूल्य उकालो लागेको हो।
यो समाचार तयार पार्दासम्म स्पट गोल्डको मूल्य १.०३ प्रतिशत अर्थात ४६ डलरले बढेर प्रतिऔंस ४ हजार ५३३ डलर पुगेको छ। अघिल्लो कारोबारमा सुनको मूल्य जुनको सुरुदेखिकै उच्च विन्दुमा पुगेको थियो। यो साता मात्रै सुनको मूल्य करिब ३.६ प्रतिशतले बढिसकेको छ।
अमेरिकी डलर कमजोर हुँदा सुनसँगै अन्य बहुमूल्य धातुको मूल्यमा पनि सकारात्मक प्रभाव परेको छ। अमेरिकी डलर कमजोर भएपछि डलरमा मूल्य निर्धारण हुने सुन विदेशी लगानीकर्ताका लागि तुलनात्मक रूपमा सस्तो हुन्छ।
यसैबीच, अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले सरकारले ट्रेजरी बन्डको पुनः खरिद थप बढाउन सक्ने बताएका छन्। अमेरिकी ट्रेजरी विभागले आगामी त्रैमासिकमा लामो अवधिका ऋणपत्रको बाइब्याकको आकार दोब्बर बनाउँदै प्रत्येक कारोबारमा कम्तीमा ४ अर्ब डलर पुर्याउने घोषणा गरेको छ।
यता, फेडरल रिजर्भका दुई अधिकारीले ट्रेजरी विभागको ऋण व्यवस्थापनमा भएको परिवर्तनले अमेरिकी केन्द्रीय बैंकको मौद्रिक नीतिमा पार्न सक्ने प्रभावबारे सावधानी अपनाउनुपर्ने बताएका छन्।
आगामी दिनमा सुनको मूल्यको दिशा फेडरल रिजर्भको ब्याजदरसम्बन्धी निर्णय र त्यसले बजारको ब्याजदर अपेक्षामा पार्ने प्रभावमा निर्भर रहने जनाइएको छ। उच्च ब्याजदरले प्रतिफल नदिने सुनको आकर्षण घटाउने भएकाले फेडको नीति सुन बजारका लागि महत्वपूर्ण मानिन्छ।
बिहीबार सार्वजनिक तथ्यांकअनुसार अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिनेको संख्या गत साता केही घटेको छ। जुलाईमा रोजगारीमा अप्रत्याशित गिरावट आए पनि श्रम बजार तुलनात्मक रूपमा स्थिर रहेको संकेत यस तथ्यांकले गरेको छ। यसले फेडलाई मुद्रास्फीति नियन्त्रणमा केन्द्रित रहने अवस्था कायम राखेको छ।
भू–राजनीतिक तनाव पनि बहुमूल्य धातुको बजारमा प्रभाव पार्ने अर्को महत्वपूर्ण पक्ष बनेको छ। अमेरिकी ट्रेजरी सचिव बेसेन्टले इरानमाथि अमेरिकाले इतिहासकै ‘कडा प्रतिबन्ध’ लगाउने बताएका छन्।
यस्तै आज चाँदीको मूल्य ४.६८ प्रतिशत बढेर प्रतिऔंस ६८.७८ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।