काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा सम्पन्न आवश्यक कानुनी प्रक्रिया तथा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया पूरा गरेको हो।
प्राप्तिपश्चात् विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू स्वरोजगार लघुवित्तले व्यहोर्ने गरी एकीकृत कारोबार सञ्चालन गरिने जनाइएको छ।
दुवै संस्थाबीचको एकीकृत कारोबार यही भदौ २१ गते आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ। एकीकृत कारोबार शुरु हुने अवधिमा दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवाहरू भदौ २१ गते एक दिन बन्द रहने भएकाले सेवाग्राही, सेयरधनी, नियामक निकाय तथा सम्बन्धित सरोकारवालालाई आवश्यक जानकारी गराइएको छ।
प्राप्तिपश्चात् संस्थाको नाम ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम रहनेछ। यसको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा रहने जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।