काठमाण्डौ । सरकारसँग १४ बुँदे सहमति भएपछि ललितपुरको पुल्चोकमा धर्नारत लघुवित्त ऋणीहरूले आन्दोलन स्थगित गरी घर फर्किएका छन्।
नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति जुटेपछि लामो समयदेखि जारी धर्ना स्थगित गरिएको हो। सहमतिसँगै आन्दोलनमा सहभागी ऋणीहरू आइतबार बिहान आ–आफ्नो गृहजिल्लातर्फ लागेका छन्।
सरकारले आन्दोलनकारीलाई घर फर्काउन यातायातको समेत व्यवस्था गरेको थियो। आइतबार बिहान करिब ८ः५० बजे साझा यातायातका ८ वटा बसमार्फत ३२३ जना ऋणीलाई विभिन्न जिल्लातर्फ पठाइएको हो।
उनीहरूलाई विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा पुल्चोकबाट बिदाइ गरिएको थियो।
धर्नामा सहभागीमध्ये झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीसहित विभिन्न जिल्लाका ऋणी रहेका थिए। उनीहरूलाई सम्बन्धित क्षेत्रसम्म पुग्ने गरी बसको व्यवस्था गरिएको थियो।
लघुवित्त संस्थाबाट लिएको कर्जाको भार, चर्को ब्याज तथा कर्जा असुली प्रक्रियासम्बन्धी विभिन्न माग राख्दै ऋणीहरू आन्दोलनमा उत्रिएका थिए। आफ्ना समस्या समाधानका लागि सरकारसँग ठोस पहलको माग गर्दै उनीहरूले पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्ना दिँदै आएका थिए।
सरकार र आन्दोलनरत पक्षबीच सहमति भएसँगै तत्कालका लागि धर्ना स्थगित भएको छ। अब सहमतिका बुँदा कार्यान्वयन कसरी अघि बढ्छन् भन्ने विषयलाई ऋणीहरूले चासोका साथ हेर्ने भएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।