आईतवार, भाद्र ७,२०८३ 05:42:12
Bizshala
  • आईतवार, भाद्र ७,२०८३ 05:42:12
Bizshala
Global IME Bank Limited

निजी क्षेत्रलाई शंकाको नजरले हेरेर आर्थिक विकास सम्भव छैन : अन्जन श्रेष्ठ

निजी क्षेत्रलाई शंकाको नजरले हेरेर आर्थिक विकास सम्भव छैन : अन्जन श्रेष्ठ
New Office

 

काठमाण्डौ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास कमजोर हुँदा व्यवसायीको आत्मविश्वाससमेत खस्किएको बताएका छन्। उनले निजी क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्ति कायम रहेसम्म देशमा औद्योगीकरण र आर्थिक विकासले गति लिन नसक्ने टिप्पणी गरेका छन्।

आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै श्रेष्ठले अहिले निजी क्षेत्रको मनोबल इतिहासकै न्यून विन्दुमा पुगेको दाबी गरे।

उनका अनुसार व्यवसायीहरूले राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप र आर्थिक उतारचढावबीच पनि निरन्तर व्यवसाय सञ्चालन गर्दै आएका छन्। तर पछिल्ला घटनाक्रम र सरकारी अभिव्यक्तिले निजी क्षेत्र र युवामा थप त्रास सिर्जना गरेको उनको भनाइ थियो।

‘समस्या धेरै छन्, तर सबैभन्दा पहिला निजी क्षेत्रलाई विश्वास गर्नुपर्छ। निजी क्षेत्रको आत्मविश्वास बढाउनुपर्छ,’ उनले भने, ‘अहिले व्यवसायीको कन्फिडेन्स इतिहासकै न्यून अवस्थामा छ। त्यसैले सबैभन्दा पहिले ट्रस्ट बिल्डअप गर्नुपर्छ।’

Bizshala
CG Motors

‘उद्योगलाई आँखा लाग्छ भन्ने सोचले औद्योगीकरण हुँदैन’

श्रेष्ठले सरकारले उद्योग सञ्चालन गर्न खोज्नु गलत नभएको तर एउटा उद्योगलाई केन्द्रमा राखेर समग्र औद्योगिक नीति निर्माण गर्न नहुने बताए।

हेटौंडा कपडा उद्योग सञ्चालनका विषयमा निजी क्षेत्रले उद्योग बन्द गराउन सक्ने आशंका व्यक्त गरिएको प्रसंग उल्लेख गर्दै उनले यस्तो सोचमाथि व्यंग्यसमेत गरे।

‘हेटौंडा कपडा उद्योग चल्यो भने व्यापारीले आँखा लगाउँछन्, बन्द गराउन खोज्छन् भन्ने मानसिकता किन राख्ने ? डर लाग्छ भने झाँक्री लगाएर फुकफाक गरे हुन्छ, नभए खुर्सानी र कागती झुण्ड्याए हुन्छ,’ उनले भने, ‘तर यस्तो सोचबाट देशमा औद्योगीकरण हुँदैन।’

उनले नेतृत्वमा बस्ने व्यक्तिहरूले निजी क्षेत्रप्रति अविश्वास पैदा गर्ने अभिव्यक्ति दिन नहुने बताए।

सरकार उद्योग चलाओस्, तर निजी क्षेत्रलाई पनि अघि बढाओस्

श्रेष्ठले सरकार आफैंले केही उद्योग सञ्चालन गर्न चाहेको अवस्थामा त्यसलाई सकारात्मक रूपमा लिन सकिने बताए। तर सरकारी उद्योग सञ्चालनसँगै निजी क्षेत्रलाई कसरी सक्षम बनाउने भन्ने स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ थियो।

उनले नेपालमा खपत हुने कपडाको ठूलो हिस्सा स्वदेशमै उत्पादन गर्न सक्ने गरी उद्योगको समग्र ‘इकोसिस्टम’ निर्माण गर्नुपर्नेमा जोड दिए।

कच्चा पदार्थ, उत्पादन, बजार, वित्तीय पहुँच, कर नीति र उपभोक्तासम्मको श्रृंखलालाई जोडेर औद्योगिक वातावरण तयार नगरेसम्म एउटा-दुईवटा उद्योग सञ्चालन गरेर मात्रै अर्थतन्त्र बलियो नहुने उनको भनाइ थियो।

‘व्यवसायीको हुर्मत लिएर अर्थतन्त्र चल्दैन’

श्रेष्ठले व्यवसायीले दैनिक रूपमा नाफा–घाटा, बजारको जोखिम र अनेक चुनौती सामना गर्दै पनि आशावादी भएर काम गरिरहेको बताए।

यस्तो अवस्थामा व्यवसायीलाई प्रोत्साहन गर्नुको सट्टा उनीहरूको मनोबल गिराउने र सार्वजनिक रूपमा हुर्मत लिने प्रवृत्तिले लगानीको वातावरण बिगार्ने उनले चेतावनी दिए।

उनका अनुसार निजी क्षेत्र कमजोर हुँदा लगानी, उत्पादन, रोजगारी र राजस्व सबै प्रभावित हुन्छन्।

श्रेष्ठले सरकार र निजी क्षेत्रबीच विश्वासको सम्बन्ध पुनःस्थापित गर्दै दीर्घकालीन र व्यवसायमैत्री नीतिगत वातावरण बनाउनुपर्ने बताए।

‘निजी क्षेत्रलाई शंका होइन, विश्वास चाहिएको छ। सरकार र व्यवसायीबीच भरोसाको वातावरण बने मात्रै उद्योग, रोजगारी र अर्थतन्त्रले गति लिन्छ,’ उनले बताए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.