काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। गत साता भएको तीव्र मूल्यवृद्धिपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेका छन् भने इरानमाथि अमेरिकाले घोषणा गर्न लागेको नयाँ प्रतिबन्धसम्बन्धी विवरणको प्रतीक्षा भइरहेको छ।
सोमबार कारोबारका क्रममा ब्रेन्ट क्रुडको मूल्य १.२६ प्रतिशतले घटेर प्रतिब्यारेल ९३.१८ डलर पुगेको छ। त्यस्तै, डब्लूटीआई क्रुडको मूल्यपनि १.५४ प्रतिशतले घटेर ८५.७२ डलरमा कारोबार भईरहेको छ ।
दुवै प्रमुख बेन्चमार्कको मूल्य अघिल्लो साता ५ प्रतिशतभन्दा बढी बढेको थियो। अमेरिका र इरानबीच बढ्दो तनाव, इरानी कच्चा तेल निर्यातमा आएको कमी तथा स्ट्रेट अफ हर्मुज हुँदै हुने ट्यांकर आवागमनमा आएको तीव्र गिरावटले तेल बजारमा आपूर्ति जोखिम बढाएको थियो।
हालको गिरावट भने मुख्यतः अघिल्लो साताको मूल्यवृद्धिपछि लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेकाले भएको देखिन्छ। यसले भू–राजनीतिक तनावमा उल्लेख्य सुधार आएको संकेत भने गरेको छैन।
पछिल्लो ४८ घण्टामा स्ट्रेट अफ हर्मुजमा कुनै नयाँ आक्रमणको पुष्टि नभए पनि यसलाई तेल बजारका लागि सीमित सकारात्मक संकेतका रूपमा हेरिएको छ। यद्यपि, ट्यांकरको आवागमन नै निकै कम भएकाले आक्रमणका घटना घटेको हुन सक्ने विश्लेषण गरिएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दीका कारण हालसम्म ७० वटा व्यावसायिक पानीजहाजको मार्ग परिवर्तन गरिएको छ भने तीनवटा जहाजलाई निष्क्रिय बनाइएको दाबी गरिएको छ।
उता, इरानले पनि स्ट्रेट अफ हर्मुज हुँदै हुने समुद्री आवागमनमाथि आफ्नो नियन्त्रण कडा पारिरहेको छ। इरानी पक्षले पारवहनसम्बन्धी व्यवस्थाको उल्लंघन गरेको आरोपमा दर्जनौँ पानीजहाजको सूची सार्वजनिक गर्दै भविष्यमा कारबाही हुन सक्ने चेतावनी दिएको छ।
तेल बजारका लागि सोमबारको अर्को महत्वपूर्ण घटनाक्रम अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टको पत्रकार सम्मेलन हुनेछ। उनले सोमबार दिउँसो इरानविरुद्ध नयाँ आर्थिक उपाय घोषणा गर्ने अपेक्षा गरिएको छ।
बेसेन्टले सप्ताहन्तमा आगामी अभियानलाई निकै कडा आर्थिक कारबाहीको संकेत गर्दै यसलाई ‘इकोनोमिक डी डे’ को संज्ञा दिएका थिए।
उनले विशेषगरी इरानी पेट्रोलियम खरिद तथा ढुवानी गर्ने देश र संस्थाहरू, इरानका वित्तीय कारोबारलाई सहज बनाउने पक्षहरू तथा समुद्री मार्गबाट इरानी इन्धनको स्थानान्तरणलाई बेवास्ता गर्नेहरूमाथि लक्षित कारबाही हुने संकेत गरेका छन् ।
अमेरिकी नाकाबन्दीको प्रभाव इरानको तेल निर्यातमा देखिन थालिसकेको छ। चिनियाँ खरिदकर्तालाई उपलब्ध इरानी कच्चा तेलको प्रस्ताव घटेको र उपलब्ध तेलको मूल्य बढेको रिपोर्टहरू सार्वजनिक भएका छन्। नयाँ प्रतिबन्धले खरिदकर्ता वा मध्यस्थकर्तालाई थप निरुत्साहित गरेमा विश्व तेल बजारमा आपूर्ति झनै कसिलो हुन सक्ने जोखिम छ।
अमेरिकी आर्थिक अभियानमा सहभागी हुने कुनै पनि देशलाई इरानले गम्भीर रूपमा लिने चेतावनी दिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोसेन रेजाइले अमेरिकी अभियानमा सहभागी हुने कुनै पनि देशको कदमलाई ‘युद्धको कार्य’ का रूपमा लिइने चेतावनी दिएका छन्।
यद्यपि, तेहरानबाट आउने राजनीतिक संकेतहरू मिश्रित छन्। इरानी राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकासँग जुनमा भएको समझदारीको बचाउ गर्दै कूटनीतिलाई वर्तमान न युद्ध, न शान्ति अवस्थाबाट बाहिरिने सबैभन्दा उपयुक्त मार्गका रूपमा प्रस्तुत गरेका छन्।
यसैबीच, पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल असिम मुनीर सोमबार तेहरान जाने अपेक्षा गरिएको छ। पाकिस्तानले अमेरिका र इरानबीच पुनः वार्ता सुरु गराउन मध्यस्थता गर्ने प्रयास गरिरहेको छ।
हाल तेल बजारको मुख्य ध्यान अमेरिकी ट्रेजरी सचिव बेसेन्टले सोमबार घोषणा गर्ने नयाँ प्रतिबन्धको स्वरूप र त्यसको प्रभावमा केन्द्रित छ। प्रतिबन्धले इरानी तेल निर्यातमा उल्लेख्य कमी ल्याएमा विश्व बजारमा आपूर्ति जोखिम बढ्दै तेलको मूल्य पुनः उकालो लाग्न सक्ने सम्भावना छ।
तर नयाँ कदमले इरानलाई थप आक्रामक प्रतिक्रिया दिन प्रेरित गरेमा स्ट्रेट अफ होर्मुज हुँदै हुने समुद्री आवागमनमा थप अवरोध आउन सक्छ, जसले विश्व ऊर्जा बजारमा ठूलो अस्थिरता निम्त्याउन सक्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।