काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई लक्षित गर्दै इरानको सरकारी टेलिभिजनबाट धम्कीपूर्ण भिडियो प्रसारण भएको छ। भिडियोमा ब्यारोनसम्म पुग्ने सम्भावित उपायबारे चर्चा गर्दै उनलाई लक्षित गर्ने व्यक्तिलाई १ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको दाबी गरिएको छ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) निकट सञ्चारमाध्यमले तयार पारेको उक्त भिडियो सरकारी टेलिभिजनको च्यानल–३ बाट प्रसारण गरिएको बताइएको छ। ‘होयर टु किल ब्यारोन ट्रम्प’ शीर्षकको भिडियोमा २० वर्षीय ब्यारोनको गतिविधि तथा उनको सुरक्षा व्यवस्थाबारे समेत चर्चा गरिएको छ।
भिडियोमा ब्यारोनमाथि निरन्तर निगरानी रहेको दाबी गर्दै एक युवतीले सुरक्षा व्यवस्थालाई छल्दै निजी भेटका क्रममा उनीसँगै बसेको दाबी गरिएको छ। त्यस्तै, ब्यारोनले सुरक्षा घेराभन्दा बाहिर रहँदा एक्सबक्समार्फत भ्वाइस तथा टेक्स्ट सञ्चार गर्ने गरेको र उनका एक्सबक्स, फिफा गेम तथा डिस्कोर्डसँग सम्बन्धित खाताहरू पत्ता लगाइएको दाबी पनि भिडियोमा गरिएको छ।
इरानी सरकारी टेलिभिजनले यसअघि अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई लक्षित गर्दै अर्को धम्कीपूर्ण भिडियो प्रसारण गरेको थियो। ‘होयर टु किल मेलिनिया’ शीर्षकको उक्त भिडियोमा मेलानियाको सार्वजनिक गतिविधि, यात्राका क्रममा देखिने दृश्य तथा न्यूयोर्कका विभिन्न स्थान समेटिएका थिए।
भिडियोमा मेलानियाले भ्रमण गर्ने भनिएका लक्जरी पसलहरूको समेत उल्लेख गरिएको थियो। साथै, ती स्थानलाई हिंसात्मक गतिविधिका लागि सम्भावित स्थलका रूपमा प्रस्तुत गरिएको दाबी गरिएको छ।
उक्त भिडियोको अन्त्यमा ब्यारोनलाई समेत प्रत्यक्ष रूपमा धम्की दिइएको बताइएको छ।
मेलानिया र ब्यारोन दुवैलाई अमेरिकी सिक्रेट सर्भिसले चौबीसै घण्टा सुरक्षा प्रदान गर्दै आएको छ। राष्ट्रपति ट्रम्पसँग सम्बन्धित प्रमुख निवास तथा सम्पत्तिहरूमा पनि कडा सुरक्षा व्यवस्था रहेको बताइएको छ।
इरानी सरकारी सञ्चारमाध्यमबाट यस्तो सामग्री प्रसारण भएको घटना अमेरिका र इरानबीच तनाव बढिरहेका बेला सार्वजनिक भएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार इरान कमजोर हुँदै गएको दाबी गरेका छन्। यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले तेहरानमाथि थप आर्थिक दबाबको अभियान सुरु भएको बताएका छन्।
अमेरिकाले इरानमाथि आर्थिक दबाब बढाउने तयारी गरिरहेका बेला इरानले भने अमेरिकी कदमलाई सैन्य पराजय स्वीकार गरेको संकेतका रूपमा व्याख्या गर्दै प्रतिरोध जारी राख्ने प्रतिक्रिया दिएको छ।
दुई देशबीच बढ्दो तनावका क्रममा इरानी सरकारी सञ्चारमाध्यमबाट अमेरिकी राष्ट्रपतिको परिवारलाई लक्षित गरी धम्कीपूर्ण सामग्री सार्वजनिक हुनुले परिस्थितिलाई थप संवेदनशील बनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।