काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा शरणका लागि आवेदन दिएका वा आवेदन प्रक्रियामा रहेका विदेशी नागरिकमध्ये २ लाखसम्मको बीवान र बीटु भिसा रद्द गर्ने तयारी गरेको छ। यो योजना कार्यान्वयन भए अमेरिकी इतिहासमै एकैपटक ठूलो संख्यामा भिसा रद्द गरिएको घटना बन्न सक्ने जनाइएको छ।
अमेरिकी विदेश मन्त्रालयका कागजात तथा दुई अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेस(एपी)ले जनाएअनुसार, योजना चुनौती वा संशोधन नभए आगामी केही साताभित्र भिसा रद्द गर्ने घोषणा हुन सक्नेछ।
प्रस्तावित कदमले सन् २०१६ देखि २०२६ सम्म जारी गरिएका बीवान र बीटु भिसालाई लक्षित गर्नेछ। यी भिसा भएका व्यक्तिले अमेरिकामा प्रवेश गरेपछि शरणका लागि आवेदन दिएका वा हाल आवेदन प्रक्रियामा रहेका भए उनीहरूको भिसा रद्द हुन सक्ने बताइएको छ।
अमेरिकी विदेश मन्त्रालयले यस विषयमा होमल्यान्ड सेक्युरिटी विभागसँग समन्वय गरिरहेको छ। विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले छोटो अवधिको भ्रमणका लागि अमेरिका प्रवेश गरेपछि त्यहीँ बस्न शरण आवेदन दिएका विदेशी नागरिक पहिचान गर्ने प्रक्रिया अघि बढिरहेको बताएका छन्।
यद्यपि, पिगटले कति भिसा रद्द हुने भन्ने निश्चित संख्या सार्वजनिक गरेका छैनन्। उनका अनुसार प्रक्रिया चरणबद्ध रूपमा अघि बढ्ने भएकाले निर्णयको संख्या समयअनुसार परिवर्तन हुन सक्छ।
भिसा रद्द हुनुको अर्थ सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट देशनिकाला गरिने भन्ने भने होइन। अधिकारीहरूका अनुसार शरणसम्बन्धी मुद्दा अझै विचाराधीन रहेका अधिकांश व्यक्तिलाई अन्य कानुनी आप्रवासन श्रेणीमा स्थानान्तरण गरिन सक्नेछ। तर उनीहरूले व्यवसायिक वा पर्यटकका रूपमा प्राप्त गरेको बीवान÷बीटु हैसियत गुमाउनेछन्।
सामान्यतया बीवान भिसा व्यवसायिक भ्रमणका लागि र बीटु भिसा पर्यटन, आफन्त भेटघाट वा उपचारका लागि प्रयोग हुन्छ। अमेरिकाले हाल यस्ता भिसाका लागि आवेदन दिने व्यक्तिहरूले अमेरिकामा शरण नखोज्ने र आफ्नो देश फर्किने स्पष्ट उद्देश्य रहेको प्रमाणित गर्नुपर्ने व्यवस्था गरेको छ।
पछिल्लो १८ महिनामा अमेरिकी विदेश मन्त्रालयले अपराधमा दोषी ठहरिएका वा अभियोग लागेका व्यक्तिसहित विभिन्न कारणले करिब १ लाख ७५ हजार भिसा रद्द गरिसकेको जनाइएको छ। अमेरिकी नीतिको आलोचना गर्ने, विशेषगरी मध्यपूर्वसम्बन्धी विषयमा सार्वजनिक रूपमा धारणा व्यक्त गर्ने केही व्यक्तिको भिसासमेत रद्द गरिएको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।