काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको ब्याजदरसम्बन्धी आगामी नीतिगत निर्णयबारे संकेत पर्खिरहेका लगानीकर्ताबीच बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढेको छ। अघिल्लो कारोबारमा भने सुनको मूल्य तीन महिनाभन्दा बढी अवधिपछिको उच्च विन्दुमा पुगेको थियो।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य ०.२४ प्रतिशत अर्थात १० डलरले बढेर प्रतिऔंस ४ हजार ६४९ डलर कायम भएको छ। मंगलबार सुनको मूल्य मध्य–मे यताकै उच्च विन्दुमा पुगेको थियो। यसअघि अमेरिकी ट्रेजरीले बन्ड पुनर्खरिद योजना सार्वजनिक गरेपछि गत साता सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो।
लगानीकर्ताको मुख्य ध्यान बुधबार सार्वजनिक हुने अमेरिकी व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकांकमा केन्द्रित छ। जुलाई महिनाको पीसीई मूल्य सूचकांकलाई फेडरल रिजर्भले मुद्रास्फीतिको अवस्था मूल्यांकन गर्न महत्वपूर्ण सूचकका रूपमा प्रयोग गर्छ। उक्त तथ्यांकले आगामी ब्याजदर नीतिबारे बजारको अपेक्षालाई प्रभावित गर्ने अनुमान गरिएको छ।
यसैगरी, फेडरल रिजर्भका अध्यक्ष केभिन वार्शले शुक्रबार ज्याक्सन होलमा हुने केन्द्रीय बैंकको सम्मेलनमा दिने सम्बोधनलाई पनि बजारले नजिकबाट नियालिरहेको छ।
अपेक्षाभन्दा कमजोर मुद्रास्फीति तथ्यांकसँगै वार्शबाट नरम वा सन्तुलित मौद्रिक नीतिको संकेत आएमा सुनको मूल्यलाई थप समर्थन मिल्न सक्छ। त्यस्तो अवस्थामा वास्तविक ब्याजदर घट्ने अपेक्षा बलियो हुनुका साथै ब्याज नदिने सम्पत्तिका रूपमा रहेको सुन धारण गर्ने अवसर लागतसमेत घट्ने सम्भावना रहन्छ ।
अमेरिकी वित्तीय अवस्थाप्रतिको लगानीकर्ताको विश्वासमा पुनः गिरावट आए त्यसले पनि सुनको माग बढाउन सक्ने विश्लेषण गरिएको छ। विशेषगरी अमेरिकी ट्रेजरीको हालैको बन्ड पुनर्खरिद योजनाले बजारमा पार्ने प्रभावलाई महत्वपूर्ण मानिएको छ।
यसै महिनाको सुरुवातमा सार्वजनिक तथ्यांकअनुसार अमेरिकामा गैरकृषि क्षेत्रमा रोजगारी वृद्धि अप्रत्याशित रूपमा घटेको थियो भने उपभोक्ता मुद्रास्फीति अपेक्षाअनुसार नै रहेको थियो। यसले सेप्टेम्बरमा ब्याजदर वृद्धि हुने सम्भावनालाई कमजोर बनाएको छ।
यसैबीच, इरानले छिमेकी ओमानसँग हर्मुज जलडमरूमध्य व्यवस्थापनका विषयमा पुनः वार्ता सुरु गरेको खबरसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। भूराजनीतिक घटनाक्रमले सुनको मूल्यमा समेत प्रभाव पार्न सक्ने भएकाले लगानीकर्ताले पछिल्लो घटनाक्रमलाई नियालिरहेका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले इरान युद्धका कारण उत्पन्न ऊर्जा संकटको प्रभाव विश्व अर्थतन्त्रले अपेक्षाभन्दा राम्रोसँग सामना गरिरहेको बताएकी छन्। यद्यपि, केही देशमा सार्वजनिक वित्तीय अवस्था कमजोर बन्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरेकी छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।