बुधबार, भाद्र १०,२०८३ 12:41:03
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 12:41:03
Bizshala
Global IME Bank Limited

रसुवामा भीषण बाढीपछि ‘हाई अलर्ट’: तीनै सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा

तल्लो तटीय क्षेत्र तत्काल खाली गराउन सीडीओलाई निर्देशन, मेडिकल टोली र एम्बुलेन्स प्रभावित क्षेत्रतर्फ पठाइँदै; प्रधानमन्त्री बालेन शाहले बोलाए उच्चस्तरीय बैठक

रसुवामा भीषण बाढीपछि ‘हाई अलर्ट’: तीनै सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा
New Office

काठमाडौं। रसुवामा एक्कासि आएको भीषण बाढीपछि सरकारले उद्धार, राहत तथा सम्भावित थप जोखिम न्यूनीकरणका लागि राज्यका सबै संयन्त्रलाई ‘हाई अलर्ट’मा राखेको छ।

प्रधानमन्त्री बालेन शाहले बाढीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्। प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सघाउन अन्य जिल्लाबाट समेत अतिरिक्त जनशक्ति पठाइसकिएको उनले जानकारी दिएका छन्।

बाढीबाट हुन सक्ने थप क्षति रोक्न तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गराउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। जोखिममा रहेका नागरिकलाई एसएमएस र टेलिफोनमार्फत सूचना तथा सतर्कता सन्देश पठाउँदै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

Bizshala
CG Motors

प्रधानमन्त्री शाहका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको छ। मेडिकल टोली, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटीलगायत उद्धार तथा मानवीय सहायतासँग सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको छ।

प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने प्रक्रिया पनि अघि बढिसकेको छ। घाइतेको तत्काल उद्धार तथा उपचारका लागि आवश्यक स्वास्थ्य संयन्त्रलाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।

बाढीले सडक तथा स्थलमार्ग अवरुद्ध गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार र राहतका लागि उपलब्ध सबै हेलिकप्टर स्ट्यान्डबाइमा राख्न भनिएको छ। आवश्यक परे तत्काल परिचालन गर्ने गरी निजी हेलिकप्टर कम्पनीहरूलाई समेत आफ्ना हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको छ।

प्रधानमन्त्री शाहले अब चाल्नुपर्ने थप कदमबारे निर्णय गर्न केही बेरमै उच्चस्तरीय बैठक बोलाइएको जानकारी दिएका छन्। बैठकले बाढीको अवस्था, जोखिममा रहेका क्षेत्र, उद्धारको प्रगति, राहत व्यवस्थापन तथा आवश्यक स्रोतसाधन परिचालनबारे थप निर्णय गर्ने बताइएको छ।

सरकारले बाढी प्रभावित तथा तल्लो तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा हतारमा जोखिमयुक्त क्षेत्रमा नजान र सरकारी निकायबाट आउने आधिकारिक उद्धार अपडेट कुर्नसमेत अनुरोध गरिएको छ।

बाढी, उद्धार तथा राहतसम्बन्धी थप जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने प्रधानमन्त्री शाहले जनाएका छन्। सरकारले अपुष्ट सूचनाको पछि नलाग्न र सुरक्षा निकाय तथा स्थानीय प्रशासनले जारी गर्ने निर्देशन पालना गर्न पनि सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.