काठमाण्डौ । रसुवामा बुधबार आएको भीषण बाढीले ऊर्जा पूर्वाधारमा समेत गम्भीर क्षति पुर्याएको छ। बाढीका कारण नेपाल विद्युत प्राधिकरणअन्तर्गतका जलविद्युत गृह, प्रसारण तथा वितरण संरचना प्रभावित हुँदा रसुवा र आसपासका केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रसँग सम्बन्धित संरचनामा क्षति पुगेको छ। त्यस्तै त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनसमेत प्रभावित भएको छ।
त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनामा पनि बाढीको असर परेको प्राधिकरणले जनाएको छ।
उत्पादन, प्रसारण र वितरण तीनै तहका संरचनामा क्षति पुगेपछि विद्युत प्रणालीमा प्रत्यक्ष प्रभाव परेको हो। केही क्षेत्रमा विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य क्षेत्रमा समेत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्था पहिचान गरी विद्युत आपूर्ति यथाशीघ्र नियमित गर्ने प्रयास भइरहेको जनाएको छ। आपूर्ति सहज नहुँदासम्म धैर्य गर्न उपभोक्तासँग आग्रह गरिएको छ।
बाढीले विद्युत संरचनाबाहेक घर, सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको छ। ऊर्जा पूर्वाधारमा भएको क्षतिको वास्तविक परिमाण भने विस्तृत प्राविधिक मूल्यांकनपछि मात्रै यकिन हुने प्राधिकरणले जनाएको छ।
बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाका तटीय क्षेत्र, जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारणसँगै प्राधिकरणका कर्मचारीलाई समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सबै निकायलाई परिचालित हुनसमेत आग्रह गरेको छ।
रसुवामा यसअघि आएका बाढीले समेत जलविद्युत तथा प्रसारण संरचनामा ठूलो क्षति पुर्याएको थियो। पछिल्लो बाढीले पुनः महत्वपूर्ण ऊर्जा संरचनालाई निशाना बनाएपछि विद्युत उत्पादनदेखि प्रसारण र वितरणसम्मको प्रणालीमा थप दबाब पर्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।