काठमाण्डौ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी सामान्य वर्षाका कारण नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले उपलब्ध वर्षा तथ्यांक हेर्दा हिमताल फुटेर अचानक ठूलो बाढी आएको हुनसक्ने प्रारम्भिक आशंका रहेको बताएका छन्।
अर्यालका अनुसार पछिल्लो २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा मात्रै भएको थियो। उक्त क्षेत्रमा सात मिलिमिटरभन्दा बढी वर्षा नभएको उनले जानकारी दिए।
यति कम वर्षाबाट भोटेकोसीमा यति ठूलो र विनाशकारी बाढी आउनसक्ने अवस्था नदेखिएकाले यसको स्रोत वर्षा नभई माथिल्लो क्षेत्रमा हिमताल फुटेको हुनसक्ने अनुमान गरिएको हो।
‘वर्षाका कारण यो बाढी आएको देखिँदैन,’ अर्यालले बताएका छन्, ‘हिमताल फुटेको हुनसक्ने आशंका छ।’
बाढीले रसुवाका टिमुरे, स्याफ्रुबेँसीसहितका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। नदी तटीय बस्ती, बजार, सडक, पुल, भन्सार तथा विद्युत पूर्वाधारसमेत प्रभावित भएका छन्।
अत्यन्त कम वर्षा भएको अवस्थामा पनि यति ठूलो परिमाणको बाढी कसरी आयो भन्ने विषयमा विस्तृत अध्ययन आवश्यक रहेको विभागले जनाएको छ। बाढीको वास्तविक उत्पत्ति, माथिल्लो जलाधार क्षेत्रमा भएको सम्भावित हिमताल विस्फोट तथा त्यसको बहावबारे अनुसन्धानपछि मात्रै ठोस निष्कर्षमा पुग्न सकिने मौसमविद् अर्यालको भनाइ छ।
उनले सबै तहसनहस हुने गरी अचानक आएको बाढीको कारण पत्ता लगाउन थप अध्ययन र अनुसन्धान गरिने जानकारीसमेत दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।