बुधबार, भाद्र १०,२०८३ 04:49:16
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 04:49:16
Bizshala
Global IME Bank Limited

टिमुरे बाढीबाट भागेर जोगिएका सञ्जीव र तारा : ‘बजार तहसनहस छ, ज्यान जोगाउन माथि भाग्यौं’

टिमुरे बाढीबाट भागेर जोगिएका सञ्जीव र तारा : ‘बजार तहसनहस छ, ज्यान जोगाउन माथि भाग्यौं’
New Office

 

 

काठमाडौं। रसुवाको टिमुरेमा बुधबार बिहान आएको भीषण बाढीबाट भागेर ज्यान जोगाउन सफल स्थानीय सञ्जीव श्रेष्ठ र प्रहरी सहायक हवल्दार तारा केसीले त्यहाँको भयावह अवस्थाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

दुवैले सार्वजनिक गरेका भिडियोमा टिमुरे क्षेत्र बाढी, लेदो र भग्न संरचनाले ढाकिएको देखिन्छ। उनीहरूको विवरणअनुसार बाढी यति अचानक आयो कि धेरै स्थानीयले ज्यान जोगाउन माथिल्लो पाखातर्फ भाग्नुपरेको थियो।

स्थानीय सञ्जीव श्रेष्ठले बिहान करिब ८ बजेर ५३ मिनेटमा एक्कासि बाढी आएको र त्यसले टिमुरे बजारमा अपूरणीय क्षति पुर्‍याएको बताएका छन्।

बाढी आएलगत्तै उनी जङ्गलतर्फ भागेर ज्यान जोगाउन सफल भएका थिए। पछि टिमुरेको माथिल्लो क्षेत्रमा पुगेपछि उनले भिडियोमार्फत बजारको अवस्था देखाएका छन्।

श्रेष्ठले भिडियोमा टिमुरे बजार र भन्सार यार्ड ठूलो मात्रामा लेदो र बाढीले पुरिएको बताएका छन्। उनले ठूलो संख्यामा मानिस प्रभावित भएको आशंका पनि व्यक्त गरेका छन्।

उनले ‘झन्डै ७५ प्रतिशत मानिस बाढीमा पुरिएका हुनसक्ने’ अनुमान गरेका छन्। यद्यपि यो उनको व्यक्तिगत आकलन हो र सम्बन्धित सरकारी निकायबाट यति ठूलो मानवीय क्षतिको आधिकारिक पुष्टि भइसकेको छैन।

श्रेष्ठसहित केही व्यक्ति टिमुरेभन्दा माथिल्लो डाँडामा पुगेर सुरक्षित स्थानमा बसेका छन्। मोबाइलको ब्याट्री ७ प्रतिशत मात्र बाँकी रहेको भन्दै उनले आफन्त तथा शुभेच्छुकलाई अनावश्यक फोन नगर्नसमेत आग्रह गरेका छन्।

Bizshala
CG Motors

‘म बाँचेँ, म अहिलेसम्म बाँचेको छु’

बाढीबाट भाग्दै ज्यान जोगाएकी प्रहरी सहायक हवल्दार तारा केसीको भिडियोले पनि घटनाको त्रासदीपूर्ण अवस्था देखाएको छ।

लेदो र हिलोले लतपतिएको अवस्थामा माथिल्लो सुरक्षित स्थानतर्फ पुगेकी केसीले लामो सास फेर्दै भिडियोमा भनेकी छन्, ‘म बाँचेँ, म बाँचेँ। म अहिलेसम्म बाँचेको छु।’

उनले बाढीबाट जोगिन निकै संघर्ष गर्दै माथिल्लो पाखातर्फ दौडिएको बताएकी छन्। उनको भिडियोमा देखिएको अवस्था र आवाजले बाढी कति आकस्मिक र भयावह थियो भन्ने संकेत गर्छ।

भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेंसी र रसुवागढी क्षेत्रका बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धारलाई तीव्र बनाएका छन्।

मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै संकलन भइरहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.