काठमाण्डौ । रसुवामा आएको भीषण बाढीपछि विभिन्न क्षेत्रमा रहेका ३८४ जना आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेका छन्।
बोर्डले ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय तथा सुरक्षा निकायसँग प्राप्त विवरण रुजु गरेपछि पर्यटकको पछिल्लो अवस्था सार्वजनिक गरेको हो।
बाढीका कारण सडक, सञ्चार तथा अन्य पूर्वाधारमा अवरोध आएको र विभिन्न पर्यटकीय क्षेत्रमा आवतजावत प्रभावित भएकाले ठूलो संख्यामा पर्यटकसँग सम्पर्क हुन नसकेको जनाइएको छ।
सम्पर्कविहीन भनिएका सबै पर्यटक बाढीमा परेको पुष्टि भने भएको छैन। सञ्चार सम्पर्क टुटेको, सडक अवरुद्ध भएको वा सुरक्षित स्थानमा रहेर पनि सम्पर्क स्थापित हुन नसकेको अवस्था हुनसक्ने भएकाले उनीहरूको वास्तविक अवस्थाबारे खोजी तथा विवरण संकलन जारी छ।
रसुवा पर्यटकीय गतिविधिका दृष्टिले महत्वपूर्ण जिल्ला हो। लाङटाङ, गोसाइँकुण्ड, स्याफ्रुबेंसी तथा चीनसँगको सीमावर्ती क्षेत्र हुँदै ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने गर्छन्।
भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवा र आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएपछि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
पर्यटन बोर्डले पनि सम्बन्धित ट्राभल तथा ट्रेकिङ कम्पनी, गाइड, स्थानीय प्रशासन र सुरक्षा संयन्त्रसँग समन्वय गरी सम्पर्कविहीन पर्यटकको अवस्था यकिन गर्ने प्रयास जारी राखेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।