काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) का दुई शाखा र एउटा एक्सटेन्सन काउन्टर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
बैंकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार बाढीबाट स्याफ्रुबेसी शाखा, टिमुरे शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टर पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्। ती कार्यालयबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द रहने बैंकले जनाएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवासहित नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीको चपेटामा बैंकका कार्यालयसमेत परेपछि सम्बन्धित क्षेत्रका ग्राहकले प्रत्यक्ष बैंकिङ सेवा लिन नसक्ने अवस्था बनेको हो।
यससँगै बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति तथा दूरसञ्चार नेटवर्क अवरुद्ध हुँदा बैंकका अन्य केही शाखा तथा एक्सटेन्सन काउन्टरको सेवा पनि प्रभावित भएको छ।
बैंकका अनुसार मलेखु शाखा नेटवर्क तथा विद्युत् समस्याका कारण प्रभावित भएको छ। विदुर शाखामा विद्युत् समस्या देखिएको भए पनि ब्याकअप पावरबाट सञ्चालन भइरहेको बैंकले उल्लेख गरेको छ।
त्यस्तै, ज्वालामुखी एक्सटेन्सन काउन्टरमा नेटवर्क समस्या देखिएको छ भने चौकदे शाखा तथा धुन्चे एक्सटेन्सन काउन्टरमा नेटवर्क र विद्युत् दुवै समस्या देखिएको छ। यी स्थानमा पनि अवस्था सामान्य नभएसम्म बैंकिङ सेवा प्रभावित रहने बैंकको सूचनामा उल्लेख छ।
बैंकले प्राकृतिक विपत्तिका कारण सिर्जना भएको असहज अवस्थाप्रति ग्राहकसँग क्षमायाचना गर्दै सेवा पुनः सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने जनाएको छ।
भोटेकोशी बाढीका कारण सडक, विद्युत् र सञ्चार पूर्वाधारमा समेत ठूलो क्षति पुगेकाले प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको सेवा सामान्य अवस्थामा फर्किन केही समय लाग्न सक्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।