काठमाण्डौ । रसुवाको विनाशकारी बाढीले बगाएर ल्याएको शवबाट कानमा लगाइएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा उनीहरूको पहिचान गरी बिहीबार दिउँसो पक्राउ गरिएको हो।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका–५ चाँदबेला घर भई भरतपुर–२ पोखरा बसपार्क, सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
प्रहरीका अनुसार बाढीले बगाएर ल्याएको शवको कानमा रहेको सुनको मुन्द्रा निकालिएको दृश्य सामाजिक सञ्जालमा फैलिएको थियो। सोही भिडिओको अध्ययन र पहिचानका आधारमा दुई जनालाई नियन्त्रणमा लिइएको हो।
एसपी पौडेलले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको बताएका छन्।
रसुवाको भोटेकोशीबाट आएको विनाशकारी बाढीले बगाएका शव चितवनसहित नारायणी नदी तटीय क्षेत्रमा फेला परिरहेका बेला शवबाट गरगहना निकालिएको घटनाले व्यापक आलोचना निम्त्याएको छ।
प्रहरीले घटनाको वास्तविकता, सुनको मुन्द्रा कहाँ राखिएको छ र अरू व्यक्ति संलग्न छन् वा छैनन् भन्ने विषयमा समेत अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।