काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशन रोक्ने मागमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अब कांग्रेसभित्र यस विषयमा थप अलमल गर्न नहुने बताएका छन्।
रसुवाको बाढीले देश गम्भीर विपद्को सामना गरिरहेका बेला कांग्रेसजनले आन्तरिक विवादभन्दा मानवीय जिम्मेवारी र राष्ट्रिय संकटलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
शर्माले पहिलो दायित्व बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनु र दोस्रो दायित्व पार्टीको १५ औँ महाधिवेशनलाई पूर्वनिर्धारित प्रक्रियाअनुसार अघि बढाउनु रहेको बताएका छन्।
‘सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अब यसबारे सहमत वा असहमत कुनै पक्षमा पनि अलमल रहनु हुँदैन,’ शर्माले भनेका छन्।
उनले पार्टीभित्र मतभेद स्वाभाविक भए पनि विधि र प्रक्रियाबाट विषय एक हदसम्म टुंगिएपछि साझा जिम्मेवारीमा अघि बढ्ने परिपक्वता आवश्यक रहेको उल्लेख गरेका छन्।
‘४७ हिमताल जोखिममा’
शर्माले रसुवामा देखिएको पछिल्लो विपद्लाई जलवायु परिवर्तनसँग जोड्दै नेपाल र आसपासको हिमाली क्षेत्रमा गम्भीर जोखिम बढिरहेको बताएका छन्।
उनका अनुसार जलवायु परिवर्तनका कारण यस भूगोलका ४७ वटा हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने जोखिममा छन्।
उनले तिब्बती क्षेत्रमा भएको पछिल्लो घटनालाई सम्भावित ठूलो संकटको एउटा उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
त्यसपछिको भीषण बाढीले मानवीय क्षतिसँगै अरबौँ रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको उल्लेख गर्दै शर्माले नेपालले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा अझ बलियो रूपमा उठाउनुपर्ने बताए।
कार्बन उत्सर्जन न्यून गर्ने साना राष्ट्रहरूको नेतृत्व गर्दै नेपालले ठूला उत्सर्जक राष्ट्रसँग गम्भीर संवाद र दबाबको नीति अघि बढाउनुपर्ने उनको धारणा छ।
‘संकटमा सबै दल एक हुनुपर्छ’
शर्माले विपद्का बेला सरकारमा रहेका वा नरहेका सबै राजनीतिक दल साझा जिम्मेवारीका साथ एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
उनले कांग्रेसभित्र पनि विगतका तिक्तता बिर्सेर अघि बढ्न आग्रह गरेका छन्।
‘घर वा राजनीतिक दलभित्र विवाद हुनु स्वाभाविक हो। तर विधिबाट विषय टुंगिएपछि केही विषयमा असहमत भए पनि सँगै अघि बढ्न सहमत हुने परिपक्वता आवश्यक हुन्छ,’ उनको भनाइ छ।
उनले देश अनेक संकट र विषमतासँग जुधिरहेका बेला जिम्मेवार राजनीतिक दल कांग्रेसले आन्तरिक विषयमै महत्वपूर्ण समय खर्च गर्न नहुने बताएका छन्।
शर्माले विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशन भएको र सबै पक्षलाई समेट्न महाधिवेशनको कार्यतालिका २२ दिन पछाडि सारिएको पनि स्मरण गराएका छन्।
उनले पार्टीभित्र सहमतिको वातावरण बनाउन तीन महिनाअघि प्रस्तुत सात बुँदे प्रस्ताव पुनः अध्ययन गर्न र पार्टी कार्यालयमै बसेर समाधान खोज्न आग्रह गरेका छन्।
‘अब केवल घरायसी विषयमा अलमलिएर बस्ने छुट कांग्रेसजनलाई छैन,’ शर्माले भनेका छन्, ‘रसुवाको विपद्जस्तै देशका अरू धेरै विषयले हाम्रो ऐक्यबद्ध र जिम्मेवार भूमिका खोजिरहेका छन्।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।