काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्र प्रभावित भएको भन्दै बैंकले राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।
बाढीका कारण टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको बैंकले जनाएको छ। बाढीबाट प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै बैंकले विपद्को यस घडीमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै नागरिक प्रभावित भएको अवस्थामा पीडितको राहत तथा उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ।
बैंकका अनुसार विपद् प्रभावित नागरिकका लागि प्रदान गरिएको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने अपेक्षा गरिएको छ।
मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितका लागि आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।