काठमाण्डौ । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा अझै १२२ जना सम्पर्कविहीन रहेको अवस्थामा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनासहितको विशेष प्राविधिक टोली परिचालन गरिएको छ।
आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रतिनिधि, साइट इन्जिनियर तथा नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धारको काम अघि बढाएको हो।
टोलीले आयोजनास्थलको भौगोलिक अवस्था, संरचनागत क्षति र सम्भावित जोखिमको स्थलगत निरीक्षण गरी सुरक्षित ढंगले उद्धार अघि बढाइरहेको जनाइएको छ।
विशेषगरी बाढी तथा पहिरोका कारण आयोजनास्थलको भूगोल जटिल बनेको, पहुँचमार्गमा क्षति पुगेको तथा केही क्षेत्रमा जोखिम कायम रहेकाले प्राविधिक मूल्याङ्कनपछि मात्रै टोलीलाई संवेदनशील क्षेत्रमा परिचालन गरिएको छ।
उद्धारमा नेपाली सेना, प्राविधिक टोली तथा अन्य सम्बन्धित निकायबीच समन्वय भइरहेको छ। आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधनसमेत घटनास्थलमा परिचालन गरिएको जनाइएको छ।
प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य सहज भने छैन। यद्यपि सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउन र सम्भव भएसम्म छिटो उद्धार गर्न टोलीले उच्च सतर्कतासहित काम जारी राखेको छ।
पछिल्लो विवरणअनुसार त्रिशूली–३ ‘बी’ आयोजनाबाट हालसम्म ९१ जनाको उद्धार गरिएको छ भने अझै १२२ जना सम्पर्कविहीन छन्।
ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले अहिले आयोजनास्थलको उद्धार कार्य उच्च प्राथमिकतामा राखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।