काठमाण्डौ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपद्को सुरुवातदेखि नै आफ्ना सदस्य कम्पनीहरूले आर्थिक, यातायात तथा लजिस्टिक सहयोगसहित विभिन्न माध्यमबाट खोज, उद्धार र राहत कार्यमा योगदान गरिरहेको उल्लेख गर्दै नाइमाले उनीहरूको भूमिकाको प्रशंसा गरेको छ।
नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले विपद् तथा आपत्कालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई सहयोग गर्ने संस्थाको प्रतिबद्धताअनुसार सहायता उपलब्ध गराउने निर्णय गरिएको बताइन्।
‘यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो,’ अध्यक्ष वैद्यले भनिन्, ‘यस विपद्मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनुहुने सम्पूर्ण सदस्य कम्पनीप्रति धन्यवाद व्यक्त गर्दछु। सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले मात्रै राहत तथा पुनःस्थापना प्रभावकारी बनाउन सक्छ।’
नाइमाले खोज, उद्धार तथा राहत कार्यमा खटिएका सरकारी एवं सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र संघसंस्थाप्रति सम्मान व्यक्त गरेको छ।
संस्थाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई पनि आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार बाढीप्रभावित नागरिकको सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।