काठमाण्डौ । इरान र अमेरिकाबीचको तनाव थप चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार २ प्रतिशतभन्दा बढीले बढेको छ। अमेरिकाले स्ट्रेट अफ होर्मुजस्थित इरानी टापुमा आक्रमण गरेपछि इरानले पनि जवाफी कारबाही गरेसँगै मध्यपूर्वको द्वन्द्व थप लम्बिने आशंकाले तेलको मूल्य बढेको हो।
सोमबार ब्रेन्ट क्रुडको मूल्य २.११ डलर अर्थात् २.४० प्रतिशतले बढेर प्रतिब्यारेल ९०.२१ डलर पुगेको छ। त्यस्तै, डब्ल्यूटीआई क्रुडको मूल्य २.०५ डलर अर्थात् १.७१ प्रतिशतले बढेर प्रतिब्यारेल ८५.११ डलर पुगेको छ।
अमेरिकी सेनाले आइतबार स्ट्रेट अफ हर्मुजमा रहेको इरानको लाराक टापुका दुईवटा क्षेप्यास्त्र प्रक्षेपण केन्द्रमा आक्रमण गरेको थियो। जुलाईको अन्त्यपछि इरानमा अमेरिकाले गरेको यो पहिलो ज्ञात प्रत्यक्ष आक्रमण भएको बताइएको छ।
त्यसको जवाफमा इरानले जोर्डनमा रहेका दुई अमेरिकी हवाई अखडामा आक्रमण गरेको इरानी सञ्चारमाध्यमले रिभोलुसनरी गार्ड्सलाई उद्धृत गर्दै सोमबार जनाएका छन्।
पछिल्लो घटनाक्रमलाई द्वन्द्वको अर्को चरणको तनावका रूपमा व्याख्या गरिएको छ। यो तनाव कति समयसम्म रहन्छ भन्ने यकिन गर्न कठिन छ। द्वन्द्व केही दिनदेखि केही सातासम्म लम्बिन सक्ने जोखिम रहेको जनाइएको छ ।
यसैबीच, मध्यपूर्वको द्वन्द्व अन्त्य गर्ने वार्ता गतिरोधमा पुगेको छ। मध्यस्थकर्ताहरूले विश्वको तेल आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्। युद्ध सुरु हुनुअघि विश्वको करिब पाँचौँ हिस्सा तेल यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो।
अगस्ट महिनामा ब्रेन्ट र डब्ल्यूटीआई दुवैको मूल्यमा सामान्य गिरावट आउने सम्भावना रहे पनि गत साता दुवै बेन्चमार्कको मूल्य ४ प्रतिशतभन्दा बढी घटेको थियो। यो तीन सातापछि आएको पहिलो साप्ताहिक गिरावट थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।