काठमाण्डौ । नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिकको विषयले आन्तरिक विवादलाई थप पेचिलो बनाएको छ। पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरण तथा अद्यावधिक गर्न छुटेका सदस्यका लागि भदौ १९ गतेसम्म समय थपे पनि इतर समूहले भने राजनीतिक र प्रक्रियागत विषयमा ठोस सहमति नभएसम्म उक्त प्रक्रियामा सहभागी नहुने अडान लिएको छ।
समितिको आइतबार बसेको बैठकले पार्टीको वृहत्तर हित, एकता तथा नेता–कार्यकर्ताको आग्रहलाई ध्यानमा राख्दै क्रियाशील सदस्यता नवीकरण र अद्यावधिकका लागि भदौ १५ देखि १९ गतेसम्म थप समय उपलब्ध गराउने निर्णय गरेको थियो।
तर निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासँग निकट इतर समूहले समय थप्ने निर्णय मात्रै समस्याको समाधान नभएको जनाएको छ। समूहको भनाइमा अहिलेको मूल प्रश्न सदस्यता अद्यावधिकको समयसीमा नभई पार्टीभित्र देखिएको विवाद समाधानका लागि राजनीतिक र प्रक्रियागत सहमति हो।
इतर समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले सहमति नै नभएको अवस्थामा एकतर्फी रूपमा समय थप्नु वा कार्यतालिका हेरफेर गर्नुको औचित्य नहुने बताए।
‘सहमति नभइकन थपिएको समयको कुनै अर्थ छैन,’ विश्वकर्माले भने, ‘एकतर्फी रूपमा समय थप्ने, घटाउने वा कार्यतालिका परिवर्तन गर्ने विषयभन्दा पहिला पार्टीभित्र ठोस सहमति आवश्यक छ।’
उनका अनुसार दुवै पक्षबीच प्रक्रियागत सुधारसहित स्पष्ट सहमति नबनेसम्म इतर समूहका नेता तथा कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक गर्ने छैनन्।
कांग्रेसभित्रको पछिल्लो विवाद गत पुसमा तत्कालीन केन्द्रीय समितिको सहमतिबिनै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन आयोजना भएपछि चर्किएको हो। उक्त विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरी निर्वाचन आयोगमा समेत अद्यावधिक गराएपछि पार्टीभित्र नेतृत्व र वैधानिक प्रक्रियालाई लिएर दुई धार स्पष्ट देखिएका छन्।
यही पृष्ठभूमिमा क्रियाशील सदस्यता अद्यावधिकको विषयसमेत शक्ति संघर्षसँग जोडिएको छ। व्यवस्थापन समितिले समय थपेर प्रक्रिया अघि बढाउन खोजे पनि इतर पक्ष सहमतिबिना सहभागी नहुने अडानमा रहेकाले कांग्रेसको सदस्यता विवाद तत्काल साम्य हुने संकेत देखिएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।