काठमाण्डौ । नेपालमा प्रकाशन तथा प्रसारण हुने समाचार तथा सार्वजनिक सामग्रीको विश्वसनीयता जाँच गर्न सक्ने फ्याक्ट चेकिङ प्रणाली विकास गरिने भएको छ। यसका लागि प्रविधि पत्रकार मञ्च (टिजेएफ), सनवे कलेज काठमाण्डौ र सेन्टर फर आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च नेपाल (केयर नेपाल) बीच त्रिपक्षीय समझदारी भएको छ।
समझदारीपत्रमा केयर नेपालका संस्थापक निर्देशक टेकराज क्षेत्री, सनवे कलेजका निर्देशक खुशल रेग्मी र टिजेएफका अध्यक्ष पूर्णभक्त दुवालले हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार नेपालमा फैलिरहेका झुटा, भ्रामक, हेरफेर गरिएका तथा एआईमार्फत सिर्जना वा परिवर्तन गरिएका सामग्री पहिचान, मूल्यांकन र प्रमाणीकरण गर्न सक्ने तथ्य जाँच प्रणाली विकास गरिनेछ। प्रारम्भिक चरणमा प्रणाली नेपाली र अंग्रेजी भाषामा सञ्चालन हुने गरी तयार गरिनेछ भने लिखित, तस्वीर तथा श्रव्यदृश्य सामग्रीसमेत विश्लेषण गर्न सक्ने बनाइनेछ।
प्रस्तावित प्रणालीले समाचार तथा सार्वजनिक सामग्रीमा रहेका दाबी पहिचान गर्ने, समान वा सम्बन्धित दाबी खोज्ने, प्रमाण तथा स्रोत संकलन गर्ने र उपलब्ध प्रमाणका आधारमा मूल्यांकन गर्न सहयोग गर्नेछ। प्रणालीबाट प्राप्त नतिजामा प्रयोग भएका सार्वजनिक स्रोत, प्रमाण, सामग्रीको उत्पत्ति तथा मूल्यांकनको आधारसमेत अभिलेख राखिनेछ।
तर, प्रणालीबाट प्राप्त नतिजालाई अन्तिम रूपमा सत्य वा असत्यको निर्णयका रूपमा प्रयोग नगरिने समझदारीमा उल्लेख छ। कुनै सामग्री प्रकाशन वा प्रसारण गर्नुअघि योग्य सम्पादकबाट समीक्षा गर्नुपर्ने व्यवस्था गरिएको छ।
समझदारीअनुसार केयर नेपालले अनुसन्धान तथा प्रविधि विकासको नेतृत्व गर्नेछ। संस्थाले प्रणालीको प्राविधिक संरचना तयार गर्नुका साथै एआई, मेसिन लर्निङ, भाषा प्रशोधन तथा नलेज सेयरिङ प्रविधिको विकास गर्नेछ।
त्यस्तै, प्रणालीको परीक्षण तथा मूल्यांकन र सफ्टवेयर पूर्वाधार व्यवस्थापनको जिम्मेवारीसमेत केयर नेपालले लिनेछ।
टिजेएफले प्रणाली विकासका क्रममा पत्रकारिता तथा सम्पादकीय प्रक्रिया, तथ्य जाँच र सूचना विश्वसनीयतासम्बन्धी विज्ञता उपलब्ध गराउनेछ। मञ्चले प्रणालीले सम्बोधन गर्नुपर्ने झुटा तथा भ्रामक सूचना पहिचान गर्न, सामग्री वर्गीकरण तथा प्रमाणीकरणका मापदण्ड तयार गर्न र सञ्चारमाध्यम तथा पत्रकारसँग समन्वय गर्न सहयोग गर्नेछ।
समाचार कक्षमा प्रणालीको परीक्षण तथा प्रयोगका लागि सहजीकरण गर्ने जिम्मेवारीसमेत टिजेएफले लिनेछ।
सनवे कलेज काठमाण्डौले प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता तथा विकासकर्ताको सहभागिता गराउनेछ। कलेजले प्रणालीको नमुना निर्माण, परीक्षण, अनुसन्धान तथा प्रमाणीकरणमा सहयोग गर्नेछ।
विद्यार्थीका अनुसन्धान, अन्तिम परियोजना तथा तालिमलाई पनि यस परियोजनासँग जोडिनेछ। संस्थागत उपलब्धता तथा नीतिअनुसार आवश्यक कम्प्युटिङ र सूचना प्रविधि पूर्वाधार उपलब्ध गराउने कलेजले जनाएको छ।
समझदारीले प्रणाली विकासका क्रममा व्यक्तिगत तथ्यांक, गोप्य पत्रकारिता स्रोत तथा अन्य संवेदनशील सामग्रीको सुरक्षालाई प्राथमिकता दिएको छ। प्रणालीलाई पत्रकार, मानव अधिकार संरक्षक वा नागरिक समाजको निगरानी, राजनीतिक लक्षित गतिविधि, अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप तथा कुनै व्यक्तिलाई डर, धम्की वा हैरानी दिने उद्देश्यले प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
तीनवटै संस्थाले संयुक्त प्राविधिक कार्यदल गठन गरी प्रणालीको विकास, परीक्षण, मूल्यांकन तथा प्रयोगका प्राथमिकता निर्धारण गर्नेछन्। समझदारी अन्तिम हस्ताक्षर भएको मितिदेखि तीन वर्षसम्म कायम रहनेछ।
नेपालमा विकास हुने प्रणालीका केही प्राविधिक पक्षलाई भविष्यमा अन्य भाषा, देश तथा सञ्चार वातावरणमा समेत प्रयोग गर्न सकिने गरी विकास गर्ने लक्ष्य राखिएको छ।
टिजेएफका अध्यक्ष पूर्णभक्त दुवालले अहिले बाढीको प्रकोपका बीचमा समेत विभिन्न भ्रामक समाचार प्रकाशन तथा प्रसारण भइरहेको अवस्थामा विकास गर्न लागिएको प्रणालीले नेपालीलाई सत्यतथ्य समाचार पहिचान गर्न सहज बनाउने बताए।
केयर नेपालका संस्थापक निर्देशक टेकराज क्षेत्रीले भूकम्पलगायत विभिन्न विपद् तथा घटनाक्रमका क्रममा नेपालमा भ्रामक र तथ्यहीन समाचार प्रकाशन तथा प्रसारण हुने गरेको बताए। यस्ता समस्याबारे विभिन्न अनुसन्धान गर्दै अहिले प्रणाली विकासको चरणमा पुगेको उनले जानकारी दिए।
सनवे कलेजका निर्देशक खुशल रेग्मीले फ्याक्ट चेकिङ प्रणालीले नेपालको पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।