काठमाण्डौ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट अपहरणमा परेको नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न आरोपमा एक महिलालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार भदौ १४ गते अपराह्न करिब ४ बजे वीरगञ्ज महानगरपालिका–४ स्थित नारायणी अस्पतालबाट शिशु बेपत्ता भएको थियो। सुत्केरी कुरुवा कोठामा रहेकी आफन्तसँग ‘खेलाउँछु’ भन्दै शिशुलाई लिएर गएकी महिलाले त्यहाँबाट आफ्नो घर पुर्याएको अनुसन्धानबाट खुलेको छ।
शिशु हराएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साले साँझ करिब ५ बजेदेखि खोजी अभियान सुरु गरेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी पवनकुमार भट्टराईका अनुसार सम्भावित सीमा नाकामा निगरानी बढाउनुका साथै अस्पतालभित्र र बाहिर जडान गरिएका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन गरिएको थियो।
लगातारको खोजी तथा अनुसन्धानपछि करिब १६ घण्टामा शिशुको अवस्था पत्ता लागेको प्रहरीले जनाएको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बस्ने २७ वर्षीया सबिना खातुन रहेको कोठाबाट शिशुलाई सकुशल उद्धार गरेको हो। एसपी भट्टराई स्वयं घटनास्थलमा पुगेर शिशुको उद्धार गरेको प्रहरीले जनाएको छ। खातुनलाई भने नियन्त्रणमा लिइएको छ।
उद्धारपछि नवजात शिशुलाई सर्लाहीकी २७ वर्षीया आमाको जिम्मा लगाइएको छ।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकी महिलाले शिशुलाई आफ्नै बनाएर राख्ने उद्देश्यले अस्पतालबाट लगेको देखिएको एसपी भट्टराईले बताएका छन्।
प्रहरीका अनुसार समयमै सूचना प्राप्त भई खोजी अभियान सञ्चालन नभएको भए शिशुलाई अन्यत्र लैजान सक्ने जोखिमसमेत थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।