काठमाण्डौ । १८औँ नाडा अटो शो–गोल्डेन जुब्ली संस्करण २०२६ मा यामाहाले नयाँ मोटरसाइकलको सार्वजनिकसँगै उल्लेख्य बजार प्रतिक्रिया पाएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले मेलामा सार्वजनिक गरेको XSR155 का ४२८ वटा बुकिङ भएको जनाएको छ।
६ दिनसम्म सञ्चालन भएको नाडा अटो शोमा मोटरसाइकलप्रेमीको आकर्षण नयाँ मोडलतर्फ देखिएको कम्पनीको दाबी छ। ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियान तथा ‘बिल्ट अन लेगेसी, ड्रिभन बाइ पर्फर्मेन्स’ उत्पादन दर्शनसहित सार्वजनिक गरिएको उक्त मोटरसाइकललाई रेट्रो–आधुनिक डिजाइनमा प्रस्तुत गरिएको थियो।
यामाहाले मेलामा ‘बेस्ट स्टल अवार्ड’ समेत हात पारेको छ। नवीन अवधारणा, आकर्षक प्रस्तुति तथा आगन्तुकलाई प्रदान गरिएको अनुभवका आधारमा यामाहाको स्टललाई उक्त अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।
यामाहाको स्टलमा नयाँ मोटरसाइकलको रेट्रो–आधुनिक डिजाइनलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो। क्लासिक टियरड्रप फ्युल ट्याङ्क, गोलाकार एलईडी हेडलाइट तथा विशिष्ट डिजाइनमार्फत मोटरसाइकललाई फरक पहिचान दिने प्रयास गरिएको थियो।
मेलाको अवधिमा हजारौँ आगन्तुकले मोटरसाइकललाई नजिकबाट अवलोकन तथा अनुभव गरेको कम्पनीले जनाएको छ।
मोटरसाइकल सार्वजनिक कार्यक्रममा एमएडब्लू ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले यामाहाले पुस्तौँदेखि राइडरसँग भावनात्मक सम्बन्ध कायम गर्दै आएको बताए।
उनले यामाहाको ‘फास्टर सन्स’ दर्शनले कम्पनीको विगतको विरासत र भविष्यको सम्भावनालाई जोड्ने उल्लेख गरे। पुराना प्रतिष्ठित मोटरसाइकलबाट प्रेरणा लिँदै आधुनिक पुस्ताका राइडरको आवश्यकता र अपेक्षाअनुसार नयाँ मोटरसाइकल विकास गर्नु उक्त दर्शनको मूल अवधारणा रहेको उनको भनाइ थियो।
‘आज हामी एउटा नयाँ मोटरसाइकललाई स्वागत गर्दैछौँ, तर योभन्दा पनि महत्त्वपूर्ण कुरा हामी एउटा विरासतलाई निरन्तरता दिइरहेका छौँ,’ अग्रवालले भने।
उनका अनुसार नेपालमा मोटरसाइकल अहिले केवल आवागमनको साधन नभई राइडरको पहिचान, व्यक्तित्व र जीवनशैली अभिव्यक्त गर्ने माध्यमसमेत बन्दै गएको छ। नयाँ मोडलले नेपाली राइडिङ समुदायसँग बलियो सम्बन्ध स्थापित गर्ने उनले विश्वास व्यक्त गरे।
नयाँ मोटरसाइकलप्रतिको आकर्षणलाई प्रि–बुकिङले समेत पुष्टि गरेको कम्पनीको भनाइ छ। नियमित बिक्री सुरु हुनुअघि नै ग्राहकलाई प्रारम्भिक चरणमा मोटरसाइकल बुक गर्ने अवसर दिइएको थियो।
विशिष्ट डिजाइन, विरासतबाट प्रेरित शैली तथा आधुनिक विशेषताका कारण नयाँ मोडल व्यक्तिगत शैली र फरक पहिचान खोज्ने राइडरका लागि लक्षित रहेको एमएडब्लू राइड्सले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।