काठमाण्डौ । नेपालका परराष्ट्रमन्त्री शिशिर खानालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि चीनलगायत कुनै एक मुलुकसँग छुट्टै ‘क्लाइमेट जस्टिस क्षतिपूर्ति’ माग गर्ने नेपालको नीति नरहेको स्पष्ट पारेका छन्।
बिहीबार नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँगको भेटवार्तामा परराष्ट्रमन्त्री खानालले जलवायु परिवर्तनबाट नेपाल र चीन दुवै प्रभावित मुलुक रहेको उल्लेख गर्दै जलवायु परिवर्तन सम्बोधन गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी भएको बताए।
मन्त्री खानालले प्राकृतिक विपद्का बेला चीनले नेपाललाई उपलब्ध गराएको सहयोगप्रति नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरे। उनले कठिन परिस्थितिमा चीनले गरेको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै चिनियाँ सरकार तथा जनताप्रति पुनः समवेदना पनि व्यक्त गरे।
भेटवार्तामा चिनियाँ राजदूत झाङले हालैको भीषण पहिरो तथा विपद्पछि चीनले नेपालको उद्धार तथा राहत प्रयासमा विभिन्न माध्यमबाट सहयोग गरिरहेको बताए। उनले दुई देशबीचको संयुक्त प्रयास र पारस्परिक सहयोगबाट विपद्को सामना गर्न सकिने विश्वास व्यक्त गरे।
राजदूत झाङले जलवायु परिवर्तन सम्पूर्ण मानवजातिका लागि साझा चुनौती भएको उल्लेख गर्दै कुनै पनि मुलुक जलवायुजन्य जोखिमबाट पूर्ण रूपमा सुरक्षित नरहेको बताए। चीनले नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई रोकथाम तथा न्यूनीकरण गर्न सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री खानालले नेपाल र चीन हिमालयको साझा प्राकृतिक पारिस्थितिक प्रणालीसँग जोडिएका तथा जलवायु परिवर्तनबाट प्रभावित मुलुक भएको बताए। नेपालले जलवायु परिवर्तनको सामना गर्न अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी आवश्यक रहेको चिनियाँ धारणा स्वीकार गर्ने उनको भनाइ थियो।
उनले नेपालले चीन वा अन्य कुनै निश्चित मुलुकसँग ‘क्लाइमेट जस्टिस क्षतिपूर्ति’ माग गर्ने मनसाय नराखेको स्पष्ट पार्दै जलवायुजन्य क्षतिको क्षतिपूर्तिका विषयलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि तथा पेरिस सम्झौताको ढाँचाभित्र रही अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।