काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि देखिएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको आगामी ब्याजदर निर्णयबारे थप संकेतको प्रतीक्षामा लगानीकर्ताको ध्यान अमेरिकी रोजगारीसम्बन्धी महत्वपूर्ण तथ्यांकतर्फ केन्द्रित रहेकै बेला शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल देखिएको हो।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य २.४१ प्रतिशत अर्थात १०५ डलरले बढेर प्रतिऔंस ४ हजार ४७४ डलर पुगेको छ । बिहीबार सुनको मूल्य करिब २ प्रतिशतले बढेको थियो। फेडरल रिजर्भका गभर्नर क्रिस्टोफर वालरले मुद्रास्फीतिको दबाब घट्दै गएको तथ्यांकले निरन्तरता पाए ब्याजदर यथावत् राख्न आफूले समर्थन गर्ने बताएपछि सेप्टेम्बरमा ब्याजदर वृद्धिको अपेक्षा कमजोर बनेको हो।
कमजोर रोजगारी तथ्यांक र बेरोजगारी दरमा वृद्धि भए ब्याजदर वृद्धिको पक्ष कमजोर हुन सक्ने जनाइएको छ। यस्तो अवस्थामा सुनको मूल्य पुनः बढ्न सक्ने आँकलन गरिएको छ। यद्यपि, आगामी साता सार्वजनिक हुने मुद्रास्फीतिसम्बन्धी तथ्यांकका कारण सुनको मूल्य लगानीकर्ताको बदलिँदो मनोभावनाबाट प्रभावित हुन सक्ने विश्लेषण समेत गरिएको छ ।
केन्द्रीय बैंकहरूको निरन्तर सुन खरिदले भने बजारमा मूल्य घट्ने सम्भावनालाई सीमित गर्न सक्ने जनाइएको छ ।
सुनलाई सामान्यतया मुद्रास्फीतिविरुद्धको सुरक्षित लगानीका रूपमा हेरिए पनि उच्च ब्याजदरले प्रतिफल नदिने सुनजस्ता सम्पत्तिमा दबाब सिर्जना गर्ने गर्छ।
यसैबीच, बिहीबार सार्वजनिक अमेरिकी तथ्यांकअनुसार गत साता बेरोजगारी भत्ता माग गर्ने अमेरिकी नागरिकको संख्या सामान्य रूपमा बढेको छ। यद्यपि, रोजगारी कटौती न्यून रहेकाले अमेरिकी श्रम बजारको अवस्था तुलनात्मक रूपमा स्थिर रहेको संकेत गरेको छ।
अर्कोतर्फ, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच जारी लडाइँलाई ‘युद्ध’ भन्न नमिल्ने बताएका छन्। उनले द्वन्द्व कहिले अन्त्य हुन्छ भन्ने समयसीमा भने खुलाउन अस्वीकार गरेका छन्। अमेरिका–इरानबीचको द्वन्द्व सातौँ महिनामा प्रवेश गरिरहेका बेला र अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्प प्रशासनसमक्ष चुनौती थपिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।