काठमाण्डौ । त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएका सञ्जय शाह र कबिर महर्जन बाहिर निस्किएलगत्तै भावुक बनेका छन्।
उद्धार अभियानमा संलग्न नेपाली सेनाका सेनानी गङ्गा बरालका अनुसार लामो समय सुरुङभित्र बिताएर बाहिर आएका दुवै जना सुरुमा केही बोल्न सकेनन्। केही क्षणपछि उनीहरू एक्कासि भक्कानिएर रोएका थिए।
शुक्रबार नेपाली सेना, नेपाल प्रहरीसहितको संयुक्त टोलीले त्रिशूली–३ ‘ए’को सुरुङभित्रबाट शाह र महर्जनलाई जीवितै बाहिर निकालेको थियो।
बरालका अनुसार सुरुङ खोल्दै उद्धार टोली अघि बढिरहेको बेला उनीहरू बसेको स्थानभन्दा करिब ५०–६० मिटर वरैबाट आवाजको सम्पर्क स्थापित भएको थियो।
उद्धार टोलीको आवाज सुनेपछि भित्रबाट आफूहरू जीवित रहेको संकेत आएको थियो। त्यसपछि टोलीले उनीहरूलाई नआत्तिन र सुरक्षित बसिरहन आग्रह गरेको थियो।
सम्पर्क स्थापित भएको करिब डेढ घण्टापछि दुवै जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको बरालले बताएका छन्।
यो उद्धार सफल हुनुमा विभिन्न सुरक्षा निकाय, प्राविधिक टोली र अन्य सरोकारवाला निकायबीचको प्रभावकारी समन्वय महत्वपूर्ण रहेको उनको भनाइ छ।
नेपाल विद्युत प्राधिकरणबाट प्राप्त विवरणअनुसार बाढी आएको समयमा सुरुङको समग्र क्षेत्रमा करिब ४० देखि ५० जना मानिस रहेको जानकारी उद्धार टोलीले पाएको बरालले बताएका छन्।
त्यसैले सञ्जय र कबिरको उद्धारसँगै अभियान सकिएको भने छैन। सुरुङको भित्री क्षेत्रमा अझै मानिस फसेका हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै खोज तथा उद्धार जारी राखिएको छ।
बरालले अत्यन्त जटिल परिस्थितिमा पनि नेपाली उद्धार टोलीले समन्वय र प्राविधिक क्षमताका आधारमा सफलता हासिल गर्न सक्ने देखिएको बताएका छन्।
१० दिनसम्म बाहिरी संसारसँग लगभग सम्पर्कविहीन भएर बसेका दुई व्यक्ति जीवितै भेटिएको घटनाले अब सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजीमा समेत नयाँ आशा जगाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।