काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रक्रिया अघि बढाएसँगै आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गर्न अनुरोध गरेको छ।
बैंकले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)सँग यस्तो आग्रह गरेको हो ।
मुक्तिनाथ विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकबीच भदौ १९ गते एकआपसमा प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्रमा संयुक्त रूपमा हस्ताक्षर भएको थियो।
उक्त सम्झौतापछि बैंकले नेपाल धितोपत्र बोर्डबाट जारी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको हो।
प्राप्ति प्रक्रियाका क्रममा सम्बन्धित संस्थाका १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइनेछ।
मुक्तिनाथ विकास बैंकले यसअघि नै जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ। प्राप्ति प्रक्रिया अघि बढाउन आवश्यक अध्ययन, मूल्यांकन तथा अन्य नियामकीय प्रक्रिया पूरा गरिनेछ।
प्रस्तावित प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा प्रचलित कानुनी व्यवस्थाअनुसार आवश्यक स्वीकृति प्राप्त भएपछि अन्तिम रूपमा कार्यान्वयनमा आउनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।