काठमाण्डौ । सेयरबजार लगातार दबाबमा रहँदा सेयर लगानीकर्तामा निराशा बढिरहेका अवस्थामा संस्थागत लगानीकर्ताका रूपमा रहेका म्युचुअल फन्डहरु भने बजारमा सक्रिय देखिएका छन् । बजार ‘वियरिस ट्रेन्ड’मा चले पनि अधिकांश म्युचुअल फन्डले भने साउन महिनामा सूचीकृत सेयरमा आफ्नो लगानी बढाएका छन् ।
साउन मसान्तसम्म सञ्चालनमा रहेका म्युचुअल फन्डहरूले सूचीकृत कम्पनीको सेयरमा गरेको कुल लगानी ६८ अर्ब १९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो लगानी ६७ अर्ब १ करोड ५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार एक महिनामै म्युचुअल फन्डहरूको सेयर लगानी १ अर्ब १८ करोड ८८ लाख रुपैयाँले बढेको हो ।
बजारमा गिरावट आइरहेको अवस्थामा समेत फन्डहरूले सेयर खरिद बढाउनुलाई लगानीकर्ताले अर्थपूर्ण रूपमा हेरेका छन् । बजार घट्दा राम्रो कम्पनीका सेयरको मूल्य तुलनात्मक रूपमा सस्तो हुने भएकाले फन्डहरूले दीर्घकालीन प्रतिफललाई ध्यानमा राखेर पोर्टफोलियो विस्तार गरेको देखिन्छ ।
केही फन्डले भने साउनमा सेयर लगानी घटाएका छन्। यसले बजारको अवस्थालाई हेरेर फन्ड व्यवस्थापकहरूले फरक–फरक लगानी रणनीति अपनाइरहेको देखाउँछ ।
घट्दो बजारमा किन बढ्यो लगानी?
म्युचुअल फन्डहरू सामान्यतया दीर्घकालीन लगानीका लागि परिचित संस्थागत लगानीकर्ता हुन् । त्यसैले फण्डहरुले छोटो अवधिको बजार उतारचढावभन्दा कम्पनीको आधारभूत अवस्था र भविष्यको प्रतिफललाई प्राथमिकता दिने गर्छन् ।
सेयरबजारमा आएको गिरावटले कतिपय बलिया कम्पनीको मूल्यांकन आकर्षक बनेको अवस्थामा फन्डहरूले त्यस्ता कम्पनीका सेयरमा क्रमिक रूपमा लगानी बढाएको हुनसक्ने बजार विश्लेषकहरूको बुझाइ छ ।
बजार घटेको समयमा लगानी बढाउने रणनीतिले भविष्यमा बजार सुधार हुँदा पूँजीगत लाभ हासिल गर्ने सम्भावना बढाउँछ । यही कारण बजारमा बिक्रीको दबाब रहँदा पनि म्युचुअल फन्डले अवसर खोजेको देखिन्छ ।
म्युचुअल फन्डको लगानी बढ्नुले संस्थागत लगानीकर्ताले बजारमा दीर्घकालीन सम्भावना खोजिरहेको देखिन्छ । समग्रमा, साउनको तथ्यांकले बजारमा वियरिस दबाब भए पनि संस्थागत लगानीकर्ता भने बजारबाट बाहिरिएका छैनन् भन्ने एउटा रोचक तस्वीर देखाएको छ ।
म्युचुअल फण्डहरुको यस्तो तथ्याङ्कबाट घटेको बजारमा संस्थागत लगानीकर्ताहरु अवसर खोज्दै आफ्नो सेयर पोर्टफोलियो विस्तार गरिरहेका छन् भन्ने बुझ्न सकिन्छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।