काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दल र नेताहरूलाई जेनजी आन्दोलनको अपमान नगर्न चेतावनी दिएका छन्। जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले आन्दोलनको इतिहासलाई आफ्नो अनुकूल व्याख्या गरेर परिवर्तन गर्न नखोज्न आग्रह गरे।
गुरुङले जेनजी आन्दोलनलाई अपमान गर्नु तीन करोड नेपालीकै अपमान गर्नु सरह हुने बताए।
‘अझै पनि पुराना दलका साथीहरूले विभिन्न किसिमले व्याख्या गरिरहेको देख्दा अचम्म लाग्छ,’ उनले भने, ‘त्यो दिनको इतिहास कसैले फेरेर फेरिँदैन। इतिहास फेर्ने कोसिस नगर्नुस्। अझै समय छ, सुध्रिनुस्।’
उनले पुरानो सोच र कार्यशैलीबाट नयाँ नेपाल निर्माण हुन नसक्ने बताए। भदौ २३ को आन्दोलन सत्ता प्राप्तिका लागि नभई सुशासनको पक्षमा भएको उनको दाबी छ।
‘न हामीलाई सत्ताको लोभ थियो, न शक्तिको घमण्ड,’ गुरुङले भने, ‘त्यतिबेला पनि थिएन, अहिले पनि छैन। युवाहरू सुशासनका पक्षमा उभिन एक ठाउँमा जम्मा भएका थिए।’
उनले शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमाथि दमन भएको र गोली चलाइएको आरोपसमेत लगाए।
गृहमन्त्री गुरुङले जेनजी आन्दोलनका घटनाक्रमलाई भदौ २४ को आगजनी र अराजकतासँग मात्र जोडेर हेर्न खोजिएकोमा पनि असन्तुष्टि जनाए। उनका अनुसार भदौ २३ गते भएको जनधनको क्षति र युवाको बलिदानलाई ओझेलमा पार्न मिल्दैन।
उनले पुराना राजनीतिक शक्तिहरूलाई आन्दोलनको मर्म बुझ्न र इतिहासलाई आफूअनुकूल मोड्ने प्रयास नगर्न पुनः चेतावनी दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।