काठमाण्डौ । अमेरिकी सेनाले इरानी रिभोलुसनरी गार्डले अमेरिकी युद्धपोतलाई दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जवाफमा पाँचवटा इरानी कच्चा तेल ट्यांकर ध्वस्त पारेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार उक्त कारबाही मंगलबार गरिएको हो।
सेन्टकमका अनुसार इरानी क्षेप्यास्त्र आक्रमणबाट अमेरिकी युद्धपोत सुरक्षित रूपमा जोगिएको थियो भने कुनै पनि अमेरिकी सैनिक घाइते भएका छैनन्। अमेरिकी सेनाले गल्फ अफ ओमानमा चारवटा र इरानको खार्ग द्वीप नजिक एउटा तेल ट्यांकरमाथि कारबाही गरेको जनाएको छ।
अमेरिकी सेनाले जहाजमाथि कारबाही गर्नुअघि त्यसमा रहेका चालक दललाई जहाज छाड्न निर्देशन दिएको र त्यसपछि जहाजलाई सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्याइएको जनाएको छ।
पछिल्ला केही दिनयता फारसको खाडी क्षेत्रमा अमेरिका र इरानबीच पुनः आक्रमण–प्रत्याक्रमण बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानलाई आर्थिक रूपमा कमजोर बनाउने रणनीतिमा जोड दिइरहेका बेला यस क्षेत्रमा सैन्य तनाव पुनः चर्किएको हो।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकी प्रतिबन्धको आलोचना गर्दै सामाजिक सञ्जाल एक्समा अमेरिकी नीति असफल रणनीतिको पुनरावृत्ति भएको टिप्पणी गरेका छन्।
यसअघि शनिबार पनि अमेरिकी सेनाले इरानी रिभोलुसनरी गार्डले अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्रवाहक युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जवाफमा तीन इरानी तेल ट्यांकर ध्वस्त पारेको थियो। ती आक्रमण पनि असफल भएको सेन्टकमले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।