काठमाण्डौ । यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ८१ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग गरेका छन्।
दुवै कम्पनीले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएका हुन्।
उक्त रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
हालै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
यसअघि कम्पनीले बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्र तथा पीडितलाई राखिएका आश्रयस्थलमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ वितरण गरिसकेको छ। सम्बन्धित निकायसँगको समन्वयमा राहत सामग्री प्रभावित नागरिकसम्म प्रत्यक्ष पुर्याइएको कम्पनीको भनाइ छ।
बाढीपीडितका लागि आवश्यक परे थप खाद्य सामग्री उपलब्ध गराउन तथा अन्य किसिमका सहयोग गर्नसमेत यशोदा ग्रुप तयार रहेको जनाइएको छ।
समूहले विपद्को कठिन घडीमा प्रभावित समुदायको राहत र पुनरुत्थानमा साथ दिन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।