काठमाण्डौ । सेयर बिक्री गरेपछि लगानीकर्ताले आफैं इडीआईएस गर्नुपर्ने बाध्यता हटाउने तयारी अघि बढेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सेयर कारोबारमा स्वचालित इडीआईएस प्रणाली लागू गर्ने विषयमा अध्ययन सुरु गरेको हो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दिएको निर्देशनअनुसार सीडीएससीले अटो इडीआईएस कार्यान्वयनका लागि आवश्यक कानुनी, प्राविधिक र संरचनागत व्यवस्थाको अध्ययन गरिरहेको छ।
सीडीएससीका अनुसार अटो इडीआईएस सञ्चालनका लागि हालको प्रणालीमा आवश्यक सुधार पहिचान गर्ने काम भइरहेको छ। यस क्रममा सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफल गरेर अध्ययन प्रतिवेदन तयार गरिनेछ।
हाल लगानीकर्ताले सेयर बिक्री गरेपछि ‘मेरो सेयर’मा लगइन गरी आफैं इडीआईएस गर्नुपर्छ। सेयर खरिद–बिक्रीको आदेश भने नेप्से वा सम्बन्धित ब्रोकरको कारोबार प्रणालीबाट दिइन्छ।
कारोबार प्रणाली र ‘मेरो सेयर’बीच अन्तरआबद्धता भए पनि इडीआईएसलाई पूर्ण रूपमा स्वचालित बनाउन विद्यमान व्यवस्थामा केही परिवर्तन आवश्यक पर्ने देखिएको छ। विशेषगरी राफसाफ, कारोबार व्यवस्थापन र पुँजीगत लाभकरसँग सम्बन्धित कानुनी प्रावधानका कारण अटो इडीआईएस कार्यान्वयन चुनौतीपूर्ण देखिएको हो।
सेबोनले भदौ दोस्रो साता सीडीएससीलाई कारोबार व्यवस्थापन प्रणाली र ‘मेरो सेयर’बीच एपीआई इन्टिग्रेसनमार्फत अटो इडीआईएस सञ्चालनका लागि आवश्यक कानुनी तथा संरचनागत सुधारबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।