काठमाण्डौ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाण्डौको ट्राफिक व्यवस्थापनलाई परम्परागत शैलीबाट निकालेर प्रविधिमा आधारित वैज्ञानिक प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।
ट्राफिक प्रहरीलाई सवारीसाधनको बीचमा उभिएर जोखिम मोली हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ।
आइतबार काठमाण्डौ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै कार्कीले एआई–सक्षम सीसीटीभी, स्वचालित निगरानी प्रणाली र आधुनिक ट्राफिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए।
उनले बस स्टप, बसपार्क, पार्किङ स्टेसन र ट्राफिक व्यवस्थापनलाई एकीकृत प्रणालीमार्फत सञ्चालन गर्न सकिने उल्लेख गर्दै महानगरपालिका र नेपाल प्रहरीबीच थप प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
कार्कीका अनुसार राजधानीमा बढ्दो जनसङ्ख्या, तीव्र सहरीकरण र सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन दिनप्रतिदिन जटिल बन्दै गएको छ। यस्तो अवस्थामा मानवीय जनशक्तिमा मात्र निर्भर प्रणालीले दीर्घकालीन समाधान दिन नसक्ने भएकाले प्रविधिको प्रयोग अपरिहार्य बनेको उनको भनाइ छ।
उनले फुटपाथ, पार्किङ, सार्वजनिक स्थान र आपत्कालीन उद्धार प्रणालीलाई पनि प्रविधिमैत्री र व्यवस्थित बनाउनुपर्ने बताए।
महानगर र प्रहरीबीच थप सहकार्य
प्रहरी महानिरीक्षक कार्कीले काठमाण्डौ महानगरपालिकासँग ट्राफिक व्यवस्थापनबाहेक फुटपाथ व्यवस्थापन, पार्किङ, फोहोरमैला, सम्पदा संरक्षण तथा विपद् व्यवस्थापनमा पनि सहकार्य गर्न सकिने बताए।
उनले स्थानीय तहले आवश्यकता अनुसार नेपाल प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने, सवारीसाधन तथा विपद् उद्धार सामग्री उपलब्ध गराउने र सीसीटीभी जडान तथा विस्तारमा सहयोग गर्नुपर्ने धारणा राखे।
यसका लागि देशभरका ७५३ स्थानीय तहलाई सम्बन्धित मन्त्रालयमार्फत नेपाल प्रहरीसँग सहयोग र समन्वय गर्न पत्राचार भइरहेको उनले जानकारी दिए।
कार्कीले प्रहरी सेवा प्रभावकारी बनाउन सुरक्षा संरचना, सुरक्षाकर्मीको आवास, यातायात र अन्य आवश्यक स्रोत–साधनको व्यवस्थापनमा समेत स्थानीय तहसँग सहकार्य गर्न सकिने बताए।
सफा सडक र खुला फुटपाथ नागरिकको अधिकार
कार्कीले नागरिकले सफा सडकमा हिँड्न र अवरोधमुक्त फुटपाथ प्रयोग गर्न पाउनुपर्ने बताए।
काठमाण्डौ महानगरपालिकाले फुटपाथ व्यवस्थापनमा गरिरहेको कामको प्रशंसा गर्दै उनले राजधानीको सहरी व्यवस्थापनले समग्र देशकै सहरी शासनको स्तर झल्काउने बताए।
आगामी दिनमा महानगरपालिका र नेपाल प्रहरीले ट्राफिक व्यवस्थापन, फुटपाथ, पार्किङ तथा आपत्कालीन प्रतिकार्य प्रणालीलाई थप आधुनिक र प्रविधिमैत्री बनाउन संयुक्त रूपमा काम गर्नुपर्ने उनको भनाइ छ।
कार्कीले विशेषगरी एआई–आधारित सीसीटीभी र स्वचालित निगरानी प्रणालीको प्रयोग बढाएर ट्राफिक प्रहरीलाई सडकको बीचमा उभिएर हात हल्लाउँदै सवारी व्यवस्थापन गर्नुपर्ने अवस्थाबाट मुक्त गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।