काठमाडौं। बाढी प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्दै आएको आर्या फार्मा ल्याब प्रालिले अब प्रभावित बस्तीमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।
कम्पनीले चितवन मेडिकल कलेजसँगको सहकार्यमा नुवाकोटको विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।
शिविर विदुर नगरपालिका–७ स्थित सरस्वती स्कुल, वडा नम्बर ५ स्थित त्रिशूली विद्यालय र वडा नम्बर ९ स्थित भैरवडाँडामा सञ्चालन गरिने कम्पनीले जनाएको छ।
शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरिनेछ। उनीहरूलाई चिकित्सकीय परामर्श, आवश्यक औषधि वितरण तथा विभिन्न रोगसम्बन्धी परीक्षण सेवा पनि निःशुल्क उपलब्ध गराइनेछ।
परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका बिरामीको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था मिलाइएको छ।
बाढीपछि प्रभावित क्षेत्रका कतिपय परिवार आर्थिक तथा व्यावहारिक कठिनाइका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकिरहेको अवस्थालाई ध्यानमा राख्दै बस्तीमै सेवा पुर्याउन लागिएको आर्या फार्माले जनाएको छ। विपद्पछि दूषित पानी, अस्वस्थकर बसोबास र सरसफाइको अभावले विभिन्न स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले समयमै परीक्षण तथा उपचार सेवा आवश्यक हुने कम्पनीको भनाइ छ।
यसअघि आर्या फार्मा ल्याबले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो। सोही राहत अभियानलाई निरन्तरता दिँदै कम्पनीले प्रभावित समुदायमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।
औषधिजन्य सामग्री सहयोगदेखि प्रभावित बस्तीमै स्वास्थ्य सेवा पुर्याउनेसम्मका गतिविधिले विपद्को कठिन समयमा पीडित परिवारसँगै उभिने कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गरेको आर्या फार्माले जनाएको छ।
कम्पनीले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितको स्वास्थ्य सुरक्षा तथा पुनःस्थापनाको यात्रामा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।