आईतवार, भाद्र २८,२०८३ 10:42:28
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 10:42:28
Bizshala
Global IME Bank Limited

सेनाको आईसीयूमा दुई घण्टा ‘युट्युब शो’, कसको आदेशमा तोडियो बिरामी सुरक्षाको घेरा ?

सेनाको आईसीयूमा दुई घण्टा ‘युट्युब शो’, कसको आदेशमा तोडियो बिरामी सुरक्षाको घेरा ?
New Office

काठमाडौं। जीवन र मृत्युको दोसाँधमा रहेका बिरामीको उपचार हुने सघन उपचार कक्ष (आईसीयू)लाई नेपाली सेनाकै अनुमतिमा युट्युब कार्यक्रमको छायाङ्कनस्थल बनाइएको गम्भीर घटना सार्वजनिक भएको छ।

त्रिशूली–३ ‘ए’ सुरुङबाट २१६ घण्टापछि उद्धार गरिएका सञ्जय शाह र कबिर महर्जन उपचाररत छाउनीस्थित सैनिक अस्पतालको आईसीयूभित्र प्रस्तोता सुरजसिंह ठकुरीले आफ्नो टोलीसहित प्रवेश गरेर करिब दुई घण्टा अन्तर्वार्ता तथा भिडियो छायाङ्कन गरेका हुन्।

परिवारका सदस्यलाई समेत सङ्क्रमणको जोखिम देखाउँदै केही मिनेटभन्दा बढी बस्न नदिइने संवेदनशील कक्षमा क्यामेरा, माइक र प्राविधिक टोलीसहित व्यावसायिक कार्यक्रम खिच्न दिइएको घटनाले सैनिक अस्पतालको व्यवस्थापनदेखि अनुमति दिने सैनिक मुख्यालयसम्मको जवाफदेहितामाथि प्रश्न उठाएको छ।

प्राप्त विवरणअनुसार ठकुरी सैनिक मुख्यालयले जारी गरेको लिखित अनुमति लिएर अस्पताल पुगेका थिए। आईसीयूभित्र छायाङ्कन गर्नु चिकित्सा मर्यादा र बिरामी सुरक्षाका दृष्टिले अनुपयुक्त देखिए पनि मुख्यालयकै पत्र आएपछि चिकित्सकहरूले टोलीलाई रोक्न सकेनन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

भिडियोमै देखियो सुरक्षा लापरबाही

सार्वजनिक भिडियोमा प्रस्तोता र उपचाररत घाइतेले मास्क लगाएको देखिँदैन। आईसीयूमा प्रयोग हुने पोसाक लगाइए पनि मुख खुला राखेर लामो प्रश्नोत्तर गरिएको छ। बाहिरबाट लगिएका क्यामेरा, माइक तथा अन्य उपकरणलाई सङ्क्रमणरहित बनाइएको थियो वा थिएन भन्ने विवरण पनि खुलाइएको छैन।

कार्यक्रम निर्माण पक्षले भने बिरामीको सहमति, चिकित्सकको उपस्थिति तथा स्वास्थ्य र सुरक्षा प्रोटोकल पालना गरेर अन्तर्वार्ता लिइएको दाबी गरेको छ। तर गम्भीर अवस्थाबाट भर्खर बाहिरिँदै गरेका बिरामीबाट लिइएको सहमति चिकित्सकीय रूपमा कति स्वतन्त्र र सूचित थियो, परिवारलाई किन पूर्ण जानकारी दिइएन र दुई घण्टा लामो छायाङ्कनको अनुमति कुन चिकित्सकीय मूल्याङ्कनका आधारमा दिइयो भन्ने प्रश्न अनुत्तरित छन्।

घाइतेका परिवारले आफूहरूलाई आईसीयूभित्रै पूरा टोली राखेर लामो अन्तर्वार्ता लिइने जानकारी नदिइएको बताएका छन्। परिवारका सदस्यलाई समेत ‘धेरैबेर नबस्नू, सङ्क्रमण हुन सक्छ’ भन्ने अस्पतालले बाहिरी टोलीलाई घण्टौँ बस्न दिनु दोहोरो मापदण्ड भएको उनीहरूको गुनासो छ।

अन्तर्राष्ट्रिय मापदण्डले के भन्छ ?

अन्तर्राष्ट्रिय अभ्यासले आईसीयूमा ‘सबैलाई अनिवार्य रूपमा गाउन लगाउनैपर्छ’ भन्ने एउटै नियम तोक्दैन। सुरक्षा व्यवस्था बिरामीको अवस्था, सङ्क्रमणको प्रकार र सम्भावित सम्पर्क जोखिमका आधारमा निर्धारण हुन्छ। तर हातको स्वच्छता, जोखिमअनुसार मास्क तथा अन्य व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग, अनावश्यक प्रवेश नियन्त्रण र बिरामीको गोपनीयता आधारभूत सिद्धान्त हुन्। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले पनि स्वास्थ्य संस्थामा बिरामी, स्वास्थ्यकर्मी र आगन्तुक सबैका लागि जोखिम मूल्याङ्कनमा आधारित सङ्क्रमण नियन्त्रण तथा आवश्यक सुरक्षा सामग्री प्रयोगमा जोड दिएको छ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सेवामा बिरामीको मर्यादा, गोपनीयता, गोप्य विवरणको सुरक्षा र सूचित सहमतिलाई सम्मान गर्नुपर्ने आधारभूत नैतिक मान्यता मानेको छ।

त्यसैले बिरामीले ‘हुन्छ’ भनेकै आधारमा आईसीयूभित्र व्यावसायिक छायाङ्कन वैध र सुरक्षित भइहाल्दैन। अस्पताल प्रशासनले बिरामीको निर्णय गर्ने क्षमता, शारीरिक तथा मानसिक अवस्था, संक्रमणको जोखिम, उपचारमा सम्भावित अवरोध, अन्य बिरामीको गोपनीयता र छायाङ्कनको सार्वजनिक प्रभावसमेत मूल्याङ्कन गर्नुपर्छ।

अनुमति दिने निकायमाथि प्रश्न

यो घटनाको केन्द्रमा प्रस्तोता ठकुरी मात्र छैनन्। सबैभन्दा ठूलो प्रश्न उनलाई आईसीयूको ढोकासम्म पुर्‍याउने सैनिक मुख्यालयको अनुमतिमाथि छ।

चिकित्सकीय निर्णय प्रशासनिक पत्रले विस्थापित गर्न मिल्छ? अस्पतालका चिकित्सकले अनुपयुक्त ठानेको काम रोक्ने अधिकार प्रयोग गर्न किन सकेनन्? छायाङ्कनअघि अस्पतालको संक्रमण नियन्त्रण समिति वा आईसीयू प्रमुखको औपचारिक स्वीकृति लिइयो? परिवारसँग लिखित अनुमति मागियो? बिरामीको स्वास्थ्यमा परेको सम्भावित प्रभावको मूल्याङ्कन कसले गर्‍यो?

स्वास्थ्य मन्त्रालयका अधिकारी तथा आईसीयू विज्ञहरूले संवेदनशील कक्षमा यसरी अन्तर्वार्ता लिन नमिल्ने र यसले बिरामीको स्वास्थ्यमा अनावश्यक जोखिम थप्ने बताएका छन्। बिरामी वार्डमा सारिएपछि सुरक्षित वातावरणमा अनुभव सुनाउन सकिने विकल्प हुँदाहुँदै आईसीयूभित्रै कार्यक्रम खिच्न हतारिनुको औचित्यसमेत देखिँदैन।

विपद्बाट चामत्कारिक रूपमा जोगिएका व्यक्तिको कथा सार्वजनिक महत्त्वको विषय अवश्य हो। तर पीडितको कथा सुनाउने नाममा उसको उपचार, आराम, गोपनीयता र सुरक्षामाथि सम्झौता गर्न मिल्दैन। आईसीयू समाचार वा मनोरञ्जन उत्पादन गर्ने स्टुडियो होइन।

अब सैनिक अस्पताल र नेपाली सेनाले केवल ‘अनुमति दिइएको थियो’ भनेर उम्किने अवस्था छैन। कसले, कुन आधारमा र कुन प्रोटोकलअन्तर्गत अनुमति दियो भन्ने विवरण सार्वजनिक गर्दै घटनाको छानबिन गर्नुपर्ने भएको छ। किनकि उपचाररत घाइतेको स्वास्थ्यमा केही असर परेको भए त्यसको जिम्मेवारी एउटा कार्यक्रम प्रस्तोताले मात्र होइन, आईसीयूको सुरक्षा घेरा खोल्ने सम्पूर्ण संयन्त्रले लिनुपर्थ्यो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.