काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट अब १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै एटीएम मेसिनबाट साना दरका नोट वितरणको व्यवस्था गर्न भनेको हो।
हाल अधिकांश बैंकका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्न सकिने व्यवस्था छ। राष्ट्र बैंकको नयाँ निर्देशन कार्यान्वयनमा आएपछि ग्राहकले आवश्यकताअनुसार १०० रुपैयाँ दरका नोटसमेत एटीएमबाट निकाल्न सक्नेछन्।
राष्ट्र बैंकका अनुसार एटीएमबाट १०० रुपैयाँ दरका नोट उपलब्ध गराउनुपर्ने माग ग्राहकबाट समय–समयमा आउने गरेको थियो। त्यसैगरी चाडपर्व नजिकिँदै जाँदा बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्न आउने ग्राहकको संख्या बढ्ने भएकाले एटीएमबाटै त्यस्ता नोट उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिइएको हो।
केन्द्रीय बैंकले यस व्यवस्थाले सर्वसाधारणलाई सहज हुने र चाडपर्वका बेला बैंक तथा वित्तीय संस्थामा हुने भीडसमेत कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
राष्ट्र बैंकले केही बैंकसँग गरेको मौखिक छलफलका क्रममा एटीएमबाट प्राविधिक रूपमा १०० रुपैयाँ दरका नोट वितरण गर्न सकिने जानकारी प्राप्त भएको जनाएको छ। सोही आधारमा बैंकहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको हो।
मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालले हस्ताक्षर गरेको पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत पठाइएको छ।
अब बैंकहरूले आफ्ना एटीएमको प्राविधिक क्षमता र आवश्यकताअनुसार १०० रुपैयाँ दरका नोट राखेर ग्राहकलाई वितरण गर्नुपर्नेछ। चाडपर्वको समयमा साना दरका नोटको माग बढ्ने भएकाले राष्ट्र बैंकको यो व्यवस्थाले ग्राहकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।