काठमाण्डौ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पूर्वनिर्धारित दक्षिण कोरिया भ्रमण रद्द गरेका छन्।
भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीपछि ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र खोज, उद्धार तथा पुनःस्थापनाका कामलाई तीव्र बनाउनुपर्ने अवस्था रहेकाले मन्त्री श्रेष्ठले भ्रमण रद्द गरेको मन्त्रालयले जनाएको छ।
पछिल्लो विपद्बाट जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ। यस्तो अवस्थामा क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्तिलाई नियमित बनाउने तथा प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ।
मन्त्रालयका अनुसार अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारीसमेत रहेको छ। विपद्पछिको पुनर्निर्माण तथा ऊर्जा क्षेत्रको पुनरुत्थानका कामलाई तीव्रता दिन मन्त्री श्रेष्ठ नेपालमै रहने निर्णयमा पुगेका हुन्।
मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ सम्म आयोजित ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो।
उक्त भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली सहभागी हुने कार्यक्रम थियो।
मन्त्रिपरिषद्ले गत साउन १३ गते नै उक्त भ्रमण स्वीकृत गरेको थियो। तर मुलुकभित्र उत्पन्न विपद् र त्यसले ऊर्जा क्षेत्रमा पारेको असरलाई मध्यनजर गर्दै मन्त्री श्रेष्ठले भ्रमण स्थगित गरेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।