काठमाडौं। बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा थप लगानी गर्न दिने र खरिद गरेको सेयर बिक्री गर्न पाउने अवधि व्यापक रूपमा घटाउने व्यवस्था कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेको २१ बुँदे ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३’ अन्तर्गत नेपाल राष्ट्र बैंकको जिम्मेवारीमा परेका व्यवस्था कार्यान्वयन गर्न शुक्रबार सर्कुलर जारी गर्ने तयारी भएको हो।
अर्थमन्त्रीनिकट उच्च स्रोतका अनुसार बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा गर्न पाउने लगानीको सीमा खुकुलो बनाउने तथा खरिद गरेको सेयर होल्ड गर्नुपर्ने समय घटाउनेलगायतका विषय समेटेर सर्कुलर जारी गर्ने प्रतिबद्धता राष्ट्र बैंकले जनाएको छ।
‘राष्ट्र बैंकले अर्थमन्त्रीबाट भएका घोषणामध्ये आफ्नो जिम्मेवारीभित्र पर्ने विषय समेटेर शुक्रबार सर्कुलर जारी गर्ने प्रतिबद्धता जनाएको छ,’ स्रोतले बिजशालासँग भन्यो, ‘बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित घोषणा राष्ट्र बैंकको नेतृत्वसँगको छलफल र समझदारीमै गरिएको हो। त्यसैले यी व्यवस्था शीघ्र कार्यान्वयन हुनेछन्।’
अर्थमन्त्री वाग्लेले २१ बुँदे कार्ययोजना सार्वजनिक गर्नुअघि राष्ट्र बैंकका गभर्नर तथा डेपुटी गभर्नरसँग विस्तृत छलफल गरेका थिए। छलफलमा बनेको समझदारीकै आधारमा बैंक तथा वित्तीय संस्थाको सेयर लगानीसम्बन्धी संवेदनशील विषय कार्ययोजनामा समेटिएको स्रोतको दाबी छ।
एक वर्षे ‘लक’ ४५ दिनमा झर्दै
अर्थमन्त्रीले सार्वजनिक गरेको कार्ययोजनामा बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारबाट खरिद गरेको सेयर कम्तीमा एक वर्षसम्म होल्ड गर्नुपर्ने विद्यमान व्यवस्थालाई संशोधन गरी ४५ दिनमा झार्ने घोषणा गरिएको छ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर ४५ दिनपछि बिक्री गर्न सक्नेछन्। लामो होल्डिङ अवधिका कारण सेयर बजारमा सक्रिय हुन नसकेका बैंक तथा वित्तीय संस्थालाई यसले खरिद–बिक्रीमा ठूलो लचकता दिनेछ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी गर्न पाउने सीमा पनि थप सहज बनाउने तयारी छ। हाल बैंक तथा वित्तीय संस्थाले सबै संगठित संस्थामा गरी आफ्नो प्राथमिक पूँजीको अधिकतम ३० प्रतिशतसम्म र एउटै संस्थामा अधिकतम १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ।
राष्ट्र बैंकले शुक्रबार जारी गर्ने भनिएको सर्कुलरमा यी सीमा तथा लगानीसम्बन्धी अन्य प्रतिबन्धमा कस्तो परिवर्तन हुन्छ भन्ने विषयलाई बजारले विशेष चासोका साथ हेरिरहेको छ।
पूँजीबजारमा ठूलो संस्थागत पैसा आउने अपेक्षा
बैंक तथा वित्तीय संस्थाहरू नेपालको वित्तीय प्रणालीका सबैभन्दा ठूला संस्थागत लगानीकर्ता हुन्। तर, कडा लगानी सीमा र एक वर्षे होल्डिङ व्यवस्थाका कारण उनीहरूको दोस्रो बजारमा सक्रिय सहभागिता सीमित हुँदै आएको छ।
सेयर खरिद गरेपछि छोटो अवधिमै बजारको अवस्था बदलिए पनि बिक्री गर्न नपाइने व्यवस्थाले बैंकहरूलाई दोस्रो बजारको लगानीबाट निरुत्साहित गरेको थियो। होल्डिङ अवधि ४५ दिनमा झरेमा बैंक तथा वित्तीय संस्थाले बजारको अवस्थाअनुसार लगानी व्यवस्थापन गर्न सक्नेछन्।
यसबाट दोस्रो बजारमा संस्थागत पैसा प्रवेश गर्ने, कारोबार रकम बढ्ने, बजारको तरलता सुधार हुने र व्यक्तिगत लगानीकर्ताको मनोबलसमेत बलियो बन्ने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्लेले पूँजीबजारमा संस्थागत लगानीकर्ता भित्र्याएर बजारलाई दिगो, गहिरो र स्थिर बनाउने नीति अघि सारेका छन्। पूँजीगत लाभकर घटाउने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको अवस्थामा अब राष्ट्र बैंकले शुक्रबार सर्कुलर जारी गरे सेयर बजार सुधार कार्ययोजनाका दुई सर्वाधिक प्रभावशाली घोषणा एकैसाथ कार्यान्वयनतर्फ अघि बढ्नेछन्।
यसअघि पूँजीगत लाभकर घटाउने र बैंक तथा वित्तीय संस्थाको सेयर होल्डिङ अवधि ४५ दिनमा झार्ने घोषणाको कार्यान्वयन समय स्पष्ट नहुँदा लगानीकर्तामा अन्योल देखिएको थियो। अर्थमन्त्रीनिकट स्रोतको पछिल्लो दाबीअनुसार अब राष्ट्र बैंकको सर्कुलर शुक्रबार नै आउने भएपछि दोस्रो मुख्य घोषणाको अन्योलसमेत हट्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।