काठमाण्डौ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक ब्याजदर वृद्धि गरेको छ। लामो समयदेखि उच्च रहेको महँगी नियन्त्रण गर्ने प्रयासस्वरूप फेडले ब्याजदर बढाएको हो। आगामी दिनमा पनि ब्याजदर थप बढाउन सकिने संकेत गरिएको छ।
फेडरल रिजर्भले सर्वसम्मत निर्णय गर्दै ब्याजदरलाई यसअघि रहेको ३.५ प्रतिशतदेखि ३.७५ प्रतिशतको दायराबाट बढाएर ३.७५ प्रतिशतदेखि ४ प्रतिशत पुर्याएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ब्याजदर घटाउनुपर्ने माग गर्दै आएका थिए। ट्रम्पले अमेरिकी अर्थतन्त्रको बलियो अवस्थालाई औँल्याउँदै ब्याजदर १ प्रतिशत वा सोभन्दा कम हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
फेडरल रिजर्भका प्रमुख केभिन वाशले महँगी अझै उच्च रहेको र लामो समयदेखि अपेक्षित सीमाभन्दा माथि रहँदै आएको बताएका छन्। उनका अनुसार महँगी नियन्त्रण गर्नु फेडका लागि गम्भीर र जिम्मेवारीपूर्ण विषय हो।
ब्याजदर बढाउँदा बैंक तथा वित्तीय संस्थाबाट लिइने घरकर्जा, उपभोक्ता कर्जा र क्रेडिट कार्डको ब्याज महँगो हुन सक्छ। यसले उपभोग तथा लगानीमा कमी ल्याएर अर्थतन्त्रमा माग घटाउन सहयोग गर्ने अपेक्षा गरिन्छ। अर्कोतर्फ, बचत तथा निक्षेपमा प्राप्त हुने ब्याजदर बढ्न सक्ने भएकाले बचतकर्ताले केही लाभ पाउन सक्छन्।
फेडको दीर्घकालीन लक्ष्य महँगीलाई करिब २ प्रतिशत मा कायम राख्नु हो। तर अमेरिकामा महँगी लामो समयदेखि उक्त लक्ष्यभन्दा माथि रहँदै आएको बताइएको छ।
महँगीका कारण दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य बढ्दा अमेरिकी नागरिकका लागि जीवनयापनको लागत र सामान खरिद गर्ने क्षमतासम्बन्धी चिन्ता प्रमुख विषय बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।