काठमाण्डौ । साउदी अरबमा इरान समर्थित हुथी समूहले शनिबार क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण गरेपछि तेल आपूर्तिमा असर पर्ने चिन्ता बढिरहेका बेला सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। बजार सहभागीहरूले साउदी अरबबाट तेलको निर्यात तथा ढुवानी सामान्य अवस्थामा फर्किने सम्भावनालाई नियालिरहेका छन्।
आज ब्रेन्ट क्रुडको मूल्य २.०१ प्रतिशतले घटेर प्रतिब्यारेल १०१.०८ डलरमा झरेको छ। यस्तै, डब्ल्यूटीआईको मूल्य १.९२ प्रतिशतले घटेर प्रतिब्यारेल ९८.३७ डलरमा कारोबार भइरहेको छ ।
जेपी मोर्गनका विश्लेषकहरूले सेप्टेम्बर १८ को एक नोटमा साउदी अरबको ‘ईस्ट–वेस्ट पाइपलाइन’मा अवरोध भए पनि मध्यपूर्वबाट हुने तेल आपूर्ति अपेक्षाकृत बलियो रहेको उल्लेख गरेका छन्। पछिल्लो १० दिनमा तेलको औसत प्रवाह दैनिक १ करोड ७१ लाख ब्यारेल रहेको र यो सन् २०२५ को औसतभन्दा दैनिक ६१ लाख ब्यारेल कम भएको उनीहरूको भनाइ छ।
यद्यपि, तेल बजारमा आपूर्ति जोखिम अझै कायम रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरान युद्धका सम्बन्धमा आफू निर्णयको चरणमा रहेको र निकट भविष्यमा महत्वपूर्ण घटनाक्रम हुन सक्ने बताएका छन्। फक्स न्युजसँगको कुराकानीमा उनले इरानलाई लक्षित गर्दै कडा चेतावनीसमेत दिएका छन्।
तेल बजारको आगामी दिशा भने साउदी अरबबाट हुने निर्यात कति छिटो सामान्य अवस्थामा फर्किन्छ र अमेरिका–इरानबीचको कूटनीतिक अवस्था कसरी अघि बढ्छ भन्नेमा निर्भर रहने विश्लेषकहरूको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।