काठमाण्डौ । सामान्य दिनमा सेयरको मूल्य घटबढ, खरिद–बिक्री आदेश र नेप्सेको सूचक हेर्न व्यस्त हुने ब्रोकर हाउसका स्क्रिन सोमबार भने फरक दृश्यका साक्षी बने ।
आजका लागि सेयर कारोबार स्थगित भएपछि विभिन्न ब्रोकर हाउस पुगेका लगानीकर्तामध्ये केही ठूलो स्क्रिनबोर्डमै फिल्म हेरेर समय बिताइरहेका देखिए भने केही लगानीकर्ता ‘लुडो गेम’ खेल्न व्यस्त थिए ।
सामान्यतया बिहानदेखि नै बजारको चाल, कम्पनीहरूको मूल्य र कारोबार रकममा नजर लगाउने लगानीकर्ताका लागि सोमबारको दिन असामान्य रह्यो । कारोबार नै नखुलेपछि बजार हेर्न ब्रोकर हाउस पुगेका लगानीकर्ताले फुर्सदको समय मनोरञ्जनमा बिताएका हुन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डेटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण नियमित कारोबार सञ्चालन गर्दा कारोबार प्रणालीमै थप जोखिम पर्न सक्ने भन्दै सोमबारको नियमित सेयर कारोबार स्थगित गरेको हो ।
कारोबार स्थगित भएसँगै सधैं हरियो–रातो अंकले भरिने ब्रोकर हाउसका स्क्रिनमा बजारको ‘चार्ट’ देखिएन । त्यसको ठाउँमा कतै फिल्म चल्यो, कतै मोबाइलमा लुडोको पासा घुम्यो ।
बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ रिपोर्टिङका क्रममा सोमबार हामी राजधानीका केही ब्रोकर हाउसमा पुगेका थियौं । त्यसक्रममा अनामनगरस्थित एक ब्रोकर हाउस पुग्दा लगानीकर्ताको उपस्थिति बाक्लै देखिन्थ्यो ।
तर, त्यहाँको माहोल अरू दिनभन्दा बिल्कुल फरक थियो । सामान्य दिनमा नेप्सेको उतारचढाव, कम्पनीको मूल्य र खरिद–बिक्रीमा नजर गाडेर बस्ने लगानीकर्ताको उत्साह सोमबार भने फरक शैलीमा देखियो ।
सेयर कारोबार नै स्थगित भएपछि ब्रोकर हाउसको ठूलो स्क्रिनबोर्डमा बजारका हरिया–राता अंक होइन, फिल्म चलिरहेको थियो । केही लगानीकर्ता त्यही फिल्म हेरेर समय बिताइरहेका थिए भने केही समूह बनाएर ‘लुडो गेम’ खेल्न व्यस्त देखिन्थे ।
बजार नखुलेपछि कारोबारको तनाव थिएन, न त कुन कम्पनीको मूल्य कति बढ्यो वा घट्यो भन्ने चासो नै । सधैं बजारको चालसँगै तात्ने ब्रोकर हाउस सोमबार केहीबेरका लागि मनोरञ्जनस्थलजस्तै बनेको दृश्य देखियो ।
एक जना लगानीकर्ताले बजार नखुल्दा निराशा पोख्दै भने, ‘आज बजार नखुल्ने नै भयो। यसो बजार बढ्ने माहोल बन्दै थियो, नेप्सेको सिस्टम नै यस्तो थोत्रो भयो कि जहिल्यै सर्भर डाउन भइहाल्छ।’
केहीबेरपछि उक्त ब्रोकर हाउसका एक कर्मचारी लगानीकर्तातिर आए र गफिन थाले। सधैं नेप्सेको कारोबार र हरिया–राता अंक देखिने स्क्रिनतिर हेर्दै उनले ठट्टा गरे, ‘आज त बोर्डमा नेप्से होइन, फिल्म पो चलिरहेको छ! के फिल्म हेर्दै हुनुहुन्छ ?’
उनले छेउमै लुडो खेलिरहेका लगानीकर्तातिर नजर घुमाउँदै फेरि भने, ‘यता फेरि लुडोको छुट्टै रमाइलो रहेछ ।’
कर्मचारीको कुरामा एक लगानीकर्ताले हाँस्दै जवाफ दिए, ‘अब टाढा–टाढाबाट ब्रोकर हाउससम्म आइसक्यौं । बजार खुलेन, टाइमपास त गर्नैपर्यो नि। नत्र दिनभर घरमा के गरेर बस्नु ?’
उनको जवाफसँगै ब्रोकर हाउसमा हाँसो गुन्जियो। बजार बन्द भए पनि लगानीकर्ताको जमघट भने रोकिएको थिएन। सामान्य दिनमा बजारको उतारचढावमाथि बहस हुने त्यही ठाउँमा सोमबार भने फिल्म, लुडो र गफगाफले ठाउँ लिएको थियो ।
सेयर कारोबारप्रति प्रत्यक्ष चासो राख्ने लगानीकर्ताका लागि बजार बन्द हुनु सामान्य विषय होइन । तर सोमबार केही ब्रोकर हाउसमा देखिएको दृश्यले तनावपूर्ण सेयर बजारमा पनि लगानीकर्ताले फुर्सदलाई आफ्नै शैलीमा उपयोग गरेको देखाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।