काठमाण्डौ । हालै भोटेकोशीमा आएको बाढी तथा डुबानका कारण अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधार, सवारीसाधन तथा व्यावसायिक सम्पत्तिमा ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने भएको छ।
नाडाले बाढी तथा डुबानबाट ठूलो जनधनको क्षति हुनुका साथै अटोमोबाइल क्षेत्रले समेत गम्भीर क्षति व्यहोरेको जनाएको छ। देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको भन्दै नाडाले प्रभावित सदस्य तथा व्यवसायीहरूसँग आफू साथमै रहेको उल्लेख गरेको छ।
बाढी तथा डुबानका कारण भन्सार नाका लगायत विभिन्न स्थानमा रहेका आयातित सवारीसाधनमा क्षति पुगेको, धेरै सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको जानकारी प्राप्त भइरहेको नाडाले जनाएको छ।
यस कठिन परिस्थितिमा प्रभावित व्यवसायी तथा सदस्यहरूलाई आवश्यक सहजीकरण र समन्वय गर्ने उद्देश्यले नाडाले सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय र अन्य सरोकारवाला निकायसँग पहल सुरु गरिसकेको जनाएको छ।
नाडाले बाढी तथा डुबानबाट प्रभावित आफ्ना सदस्य कम्पनीहरूलाई क्षतिको यथार्थ तथा प्रमाणित विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ।
नाडाले क्षतिको विवरणमा सम्भव भएसम्म बाढी तथा डुबानबाट क्षति भएका सवारीसाधन, हराएका वा सम्पर्कविहीन सवारीसाधन, सवारीसाधन रहेको स्थान तथा सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या, प्रकार तथा उपलब्ध पहिचान विवरण समावेश गर्न आग्रह गरेको छ।
त्यसैगरी, गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षति, बीमा गरिएका सम्पत्ति तथा सवारीसाधन, बीमा दाबीका लागि आवश्यक कागजात, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरणसमेत उपलब्ध गराउन भनिएको छ।
प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहजीकरणका लागि पहल गरिने नाडाले जनाएको छ।
विशेषगरी, क्षतिको समग्र विवरण संकलन तथा अभिलेखीकरण गर्ने, बीमा दाबी प्रक्रिया छिटो र सहज बनाउन सम्बन्धित बीमा कम्पनीसँग समन्वय गर्ने तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समन्वय गरिने नाडाले स्पष्ट पारेको छ।
ऋण पुनर्संरचनाका लागि पनि पहल
बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन वा अन्य सम्भावित सहजीकरणका विषयमा समेत सम्बन्धित निकायसँग समन्वय गर्ने नाडाको योजना छ।
सरकार तथा सम्बन्धित सरोकारवाला निकायसमक्ष अटोमोबाइल क्षेत्रले व्यहोरेको क्षतिको समग्र विवरण प्रस्तुत गरी आवश्यक राहत, सहजीकरण तथा नीतिगत सम्बोधनका लागि पहल गरिने नाडाले जनाएको छ।
यस कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित सदस्यहरूको समस्या सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि आवश्यक पहल गरिने नाडाले उल्लेख गरेको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले कठिन परिस्थितिमा नाडा आफ्ना सदस्य व्यवसायीसँगै रहेको जनाउँदै प्रभावित सबै सदस्यलाई यथार्थ क्षतिको विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराई आवश्यक समन्वय तथा सहजीकरणमा सहयोग गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।