काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मात्र जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न दिने प्रस्तावित व्यवस्था हटाउन माग गरेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रस्तावित निर्देशिकामा साधारण सेयर निष्कासनअघि कम्पनीले निरन्तर व्यवसाय सञ्चालन गरेको हुनुपर्ने व्यवस्था छ। इप्पानले भने यस्तो प्रावधान जलविद्युत् आयोजनाको प्रकृतिसँग मेल नखाने जनाएको छ।
जलविद्युत् आयोजनालाई निर्माणकै चरणमा ठूलो पूँजी आवश्यक पर्ने भएकाले सर्वसाधारणबाट लगानी जुटाउने बाटो सोही चरणमै खुला हुनुपर्ने इप्पानको तर्क छ।
इप्पानले आयोजनाको भौतिक प्रगति करिब ६५ प्रतिशत पुगेपछि आईपीओका लागि आवेदन दिन सक्ने व्यवस्था गर्न सेबोनलाई सुझाव दिएको छ।
साथै, अन्य क्षेत्रको तुलनामा जलविद्युत् आयोजनाको पूँजी संरचना र निर्माण अवधि फरक हुने भएकाले यस क्षेत्रका लागि छुट्टै आईपीओ चेकलिस्ट बनाउनुपर्ने मागसमेत इप्पानले अघि सारेको छ।
त्यस्तै, इप्पानले पूर्ण विवरण खुलासा, अन्डरराइटिङ र क्रेडिट रेटिङमार्फत जोखिमबारे लगानीकर्तालाई जानकारी गराउँदै जलविद्युत् कम्पनीका लागि ‘पावर भ्यालु’लाई समेत आधार मानेर प्रतिसेयर नेटवर्थ ९० रुपैयाँसम्म भए पनि आईपीओ अनुमति दिने व्यवस्था गर्न सुझाव दिएको छ।
साथै, जलविद्युत् क्षेत्रको प्रकृति अन्य उद्योगभन्दा फरक हुने भन्दै यसका लागि छुट्टै आईपीओ चेकलिस्ट बनाउनुपर्ने इप्पानको माग छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।